२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

 विवाहको प्रस्ताव अस्वीकार गर्दा मायाको हत्या

Killing Maya when she rejects his marriage proposal

झापा । विवाहको प्रस्ताव अस्वीकार गरेपछि झापामा एक महिलाको हत्या भएको खुलेको छ। झापा प्रहरीले हत्यामा घटनामा संलग्न बिर्तामोड नगरपालिका-८ स्थित गरामनी स्थायी घर भई हालः बिर्तामोड-५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

प्रसाईँले अर्जुनधारा नगरपालिका-६ बस्ने ५० वर्षीया माया पुलामी मगरको ढुंगा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सुरज कार्कीले बताए।
अविवाहित प्रसाईँ कामको सिलसिलामा भारतको आसाम डिब्लुगढमा १७ वर्ष काम गरी २०७२ सालमा बिर्तामोड फर्किएका थिए।
उनी बिर्तामोड-५ स्थित हर्कलाल मार्गको दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थायीरूपमा बस्दै आएका थिए। गत माघ ६ गते प्रसाईँको माया र उनको साथी एन राईसँग बिर्तामोडको पश्चिम स्टेण्डमा भेट भएको थियो। त्यसपछि एन राईले प्रसाईँ र मायाबीच शारीरिक सम्बन्ध राख्न सहमति गराएका थिए।

प्रसाईँले मायालाई आफ्नै निर्माणाधीन घरको दोस्रो तलामा लगी एकपटक शारीरिक सम्बन्ध राखेका थिए। त्यसको भोलिपल्ट माघ ७ गते मायासँग राति भेट्ने सल्लाह भएको थियो। सोही दिन साँझ प्रसाईँले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा-६ पुलचौकमा मायासँग भेटघाट भई गफगाफ गर्दै बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी थप कुराकानी गरेका थिए। कुराकानीको क्रममा प्रसाईँले मायालाई विवाह गर्ने प्रस्ताव राखे।

मायाले त्यसलाई अस्वीकार गर्दै प्रसाईँको दाहिने आँखामा हातले हिर्काइन्। आँखामा चोट लागेपछि प्रसाईँले मार्ने नियत राखी सडकमा रहेको ढुंगा टिपी मायाको टाउकोमा पटक-पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको डीएसपी कार्कीले बताए।

प्रसाईँले मायाको हत्या गरी त्यही राखेर फरार भए। ‘उनले प्रयोग गरेको ढुंगा शव रहेको ठाउँबाट उत्तरतर्फको बारीमा फ्याकेको अवस्था भेटिएको थियो,’ डीएसपी कार्कीले भने। घटना भएको पाँच दिनपछि विशेष सूचनाको आधारमा प्रसाईँलाई शनिबार बिर्तामोडबाटै पक्राउ गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस