२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

भगवान गौतम बुद्ध हिंडेकोभारतीय नाकादेखि चीनको नाकासम्म पुग्ने नयाँ पदमार्ग ‘प्रथम थ्रु हाइक’

New Trail 'First Through Hike'

काठमाडौं । पर्यटन व्यवसायीले ६० मिटर देखि ३७ सय मिटर उचाइका भूभाग समेटिएको नयाँ पदमार्ग सार्वजनिक गरेका छन्। भारतीय बोर्डरदेखि चीनको बोर्डरसम्म पर्ने यो पदमार्गलाई ‘प्रथम थ्रु हाइक’ नाम दिईएको छ।

कपिलवस्तुको तौलिहवा नजिकैको भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाकासम्मको यो पदमार्ग ४४० किलोमिटर दूरीको भएको अर्थ बाउण्ड एक्सपिडिसन प्रालिले जनाएको छ। यो पदमार्ग खुनुवा बोर्डरदेखि भगवान गौतम बुद्ध हिंडेको बाटो, रामपिथेकस पार्क, पाल्पाको तानसेन, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँको बन्दीपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म पुग्छ।

कम्पनीका अनुसार ८ पटकसम्मको परीक्षणपछि यो रुट सार्वजनिक गरिएको हो। नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर तथा स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पासँगको सहकार्यमा दुई वर्षको अध्ययन पछि यो रुट तयार पारिएको अर्थ बाउण्ड एक्सपिडिसनका अध्यक्ष राजन सिंखडाले बताए।

अर्थबाउन्ड एक्सपिडिसनले आफ्नो स्थापनाको २५औं वर्षका अवसरमा पदमार्ग सार्वजनिक गरेको हो। सिंखडाका अनुसार यो पदमार्ग मार्फत पर्यटकले तराईदेखि हिमालसम्म रोमाञ्चक यात्रा गर्न सक्ने छन्। कम्पनीले विदेशी पर्यटकका लागि पदयात्रा गराउन २० दिनको शुल्क ३ हजार ५ सय डलर तोकेको छ।

पदमार्गमा १२ महिना नै पर्यटकलाई यात्रा गराउन सकिने कम्पनीको दाबी छ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस