काठमाडौं — नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पर्याप्त प्रमाण संकलनपछि सोमबार सुर्खेतबाट पक्राउ गरी मंगलबार विशेष अदालतमा उपस्थित गराएको छ। पौडेल उनै व्यक्ति हुन् जो ८ पटक मन्त्री (२ पटक उपप्रधानमन्त्री) र ५ पटक सांसद बनिसकेका छन् । अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारलाई अनुमति दिएको छ।
अनुसन्धानमा पौडेलले बिचौलिया दीपक भट्टसँग मिलेर करोडौँको शंकास्पद कारोबार गरेको प्रमाण भेटिएको विभागले जनाएको छ। घरमा छापा मारेर लिइएका ल्यापटप, पेनड्राइभ, चेकहरुबाट प्रमाण खुलेको विभागको दाबी छ । प्राप्त प्रमाण अनुसार श्रीराम टोबाको कम्पनीमा पौडेलको पैसामा भट्टले ३० करोड रुपैयाँबराबरको सेयर निःशुल्क लिएको र त्यसबाट ठूलो लाभांश समेत लिइसकेको बैकिङ कारोबारमा नै देखिएको छ । त्यस्तै, बुटवलमा एक गाई फार्मको नाममा ३५ बिघा जग्गा लुकाइएको तथ्य पनि अनुसन्धानमा खुलेको छ।
पौडेलले हिमालयन रिइन्स्योरेन्स, सातवटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने, सुपारी आयातमा सहजीकरण गर्ने, जनकपुर चुरोट कम्पनी निजीकरण प्रक्रियामा संलग्न हुने जस्ता काममार्फत करोडौँको लाभ लिएको विभागको निष्कर्ष छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले प्रमाणहरु देखेपछि विभागको माग आंशिक रूपमा स्वीकार गर्दै सात दिनको म्याद थप गरेको हो। यद्यपी पौडेल बेरितका आदेश बदरका लागि ७३ नम्बरको निवेदन वा बन्दीप्रत्याक्षिकरण रिट लिएर सर्वोच्च जाने तयारीमा छन् ।
प्रकाशित मिति : २०८३ असार १० गते बुधवार

