२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

विगतमा नेतासँग कुम जोडेर सिंहदरबारमा रजगज गर्नेहरूजति बालेन आएपछि गए सदरखोरमा

काठमाडौं — कुनै समय राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारेर सिंहदरबारमा प्रभाव जमाएका आधा दर्जनभन्दा बढी ठूला माछा अहिले बालेन शाह नेतृत्वमा सरकार बनेपछि डिल्लीबजारस्थित सदरखोर कारागारमा छन्। बिचौलिया दीपक भट्टले सत्ता–प्रतिपक्ष दुवैसँग पहुँच बनाउँदै राज्य संयन्त्रलाई प्रभावित पारेका थिए। सम्पत्ति शुद्धीकरणसहित चार मुद्दामा थुनामा रहेका उनी गत ३ असारदेखि सदरखोरमा छन्।

त्यस्तै, प्रदीप अधिकारी (पूर्वमहानिर्देशक, नागरिक उड्डयन प्राधिकरण) पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा, विकल पौडेल र सुनील पौडेल सूचना प्रविधि ठेक्का अनियमिततामा, टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा, राजेश अहिराज झा बलात्कार अभियोगमा, सञ्जीव गौतम विमानस्थल अनियमिततामा, इच्छाराज तामाङ सहकारी घोटालामा र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण मुद्दामा सदरखोरमा थुनामा छन्।

सदरखोरमा करिब ५५० कैदीबन्दी छन्। दुई ब्लकमा विभाजन गरिएको कारागारमा रायमाझी, विकल र सुनील ‘ख’ ब्लकमा, अन्य चर्चित कैदी ‘क’ ब्लकमा छन्। एउटै ब्लकमा रहेका कैदीले नियमित भेटघाट गर्न पाउने व्यवस्था छ। जेलर बाबुराम अर्यालका अनुसार थोरै कैदीबन्दी हुँदा भेटघाट सजिलो हुने भएकाले चर्चित व्यक्तिहरूले डिल्लीबजार कारागार रोज्ने गरेका छन्। तर प्रशासनले सबैलाई समान व्यवहार गर्ने बताइएको छ।

 

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस