२०८० फाल्गुन ९ गते बुधवार | 2024 February 21st Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबैको मनमा बसेका वरिष्ठ कलाकार चराविज्ञ हेम पौड्यालको निधन

Senior artist veterinarian Hem Poudyal passed away

श्रीराम राई, काठमाडौं । वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पतालमा त्रियासी वर्षको उमेरमा निधन भएको हो। साहित्यकार निबन्ध आचार्यको अनुसार उनको आज बिहान ९ बजे श्रद्धाञली सभा हुँदै छ। उनका एक छोरा र एक छोरी छन्। उनका जीवनसँगिनी गंगा पौडेल नेपाली साहित्यका विशिष्ट साधक हुन्। उनको शरीर शिक्षण अस्पताल महागञ्जलाई नै दान गरेका छन्।

कपनबानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकका संरक्षक साहित्यकार गङ्गा कर्माचार्य पौडेलको जीवनसँगी पौडेलको बिहान ९ बजेभित्र शहीद गंगालाल हस्पिटलको प्राङ्गणमा श्रद्धाञ्जली हुँदै छ। शरीर दान गरेकाले उनको शरीर १० बजे पशुपति नलगी टिचिङ अस्पताल महाराजगञ्ज लगिने भएको छ। मुलुकभित्रका ६ सयभन्दा बढी चराको चित्र बनाइसकेका कलाकार हेम पौडेल चित्रकलामै समर्पित थिए। उनी चित्रकलामार्फत् वातावरण संरक्षणको जनचेतना फैलाउने अभियन्ता थिए। चराका आकृति र तिनका बासस्थानलाई चित्रमा उतारेर संरक्षणको सन्देश बाँड्दै आएका थिए।

बढ्दो औद्योगीकरण, शहरीकरण, ग्लोबल वार्निङ र भौतिक उन्नतिको होडमा मानिसले वातावरण विनाश गरिरहेका बेला उनले चित्रमार्फत् संरक्षणको सन्देश दिंदै आएका थिए। उनले नेपालमा पाइने ६ सयभन्दा बढी प्रजातिका चराका चित्र बनाएका थिए। उनका चित्र चरासम्बन्धी पुस्तकमा सङगृहीत छन्। उनले स्वदेश र विदेशमा समेत कला प्रदर्शनी गरेका थिए।

काठमाडौंको बत्तीसपुतलीमा १९९७ सालमा जन्मेका पौडेलले प्रकृतिकै प्रेरणाबाट कला क्षेत्रमा लागेको थिए। उनले भेटमा भनेका थिए, ‘मैले दस वर्षको हुँदादेखि नै चित्र कोर्न थालेका हुँ,’ उनले भने, ‘घरको कौसी र छतमा बसेर हुस्सु लागेको हेरिरहन्थें। मधुरो सूर्यको टकमा घरबस्तीहरू देखिन्थे। त्यहाँबाट घरनजिकैको बत्तीसपुतलीको राममन्दिर छर्लंग देखिन्थ्यो। म कोठामा बसेर सिसाकलमले ती दृश्यहरूको चित्र कोर्थे।’ भिनाजु बद्रीप्रसाद थपलियाको प्रेरणले उनी कला क्षेत्रमा लाग्न हौसिएका थिए। उनी चाडपर्वको बेला पनि कोठैमा बसेर चित्र कोरिरहन्थे। पूजाकोठामा बसेर देवीदेवता हेर्दै चित्रहरू कोर्थे।

उनको प्रतिभा देखेर थपलियाले कलाकार चन्द्रमान मास्केसित भेट गराएका थिए। तिनताका कला विषयका स्कुल–कलेज थिएनन्। मास्केसित उनले एक वर्ष कला सिकेका थिए। उनको पालामा अभिभावकहरू छोराछोरीहरू कला क्षेत्रमा लागेको पटक्कै रुचाउँदैन थिए। सिक्न आएको, सिकाउनुपर्छ भन्दै मास्केले उनका समूहलाई निःशुल्क पढाएका थिए। नेपालमा चित्र बेचेर जीवन गुजार्न कठिन भए पनि केही सुधार हुँदै गएको छ। उनले भनेका थिए, ‘समय बदलियो। आज कला विषयमै उच्च शिक्षासम्म पढाइ हुन्छ। अभिभावकका पनि चेतना आएको छ।’

समयसँगै राम्रा कलाकार बनेका थिए पौडेल। उनको कला विदेशसम्म पुगेको छ। उनले घरेलु शिल्पकला उद्योग त्रिपुरेश्वरमा जर्मन प्रशिक्षकबाट २०१६ देखि २०१९ सम्म तीन वर्ष कमर्सियल आर्ट कोर्ष प्रशिक्षण लिने मौका पाएका थिए। त्यतिबेला उनीहरूलाई भत्ताको पनि व्यवस्था गरिएको थियो। लैनसिंह वाङ्देल कुलपति भएका बेला तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा उनले दुई वर्ष कला जागिरेको अनुभव बटुलेका थिए। त्यही बेला नेपालका चराहरूको विषयमा २५ वर्ष अनुसन्धान गरेका विशेषज्ञ रोबर्ट एल फ्लेमिङ सिनियर र रोबर्ट एल फ्लेमिङ जुनियरले पुस्तक प्रकाशन गर्न वाङ्देलसित कलाकारका लागि सम्पर्क गरेका थिए। त्यतिबेलै उनसँगै हिरालाल डंगोल छानिएका थिए।

दुवैले चार वर्ष लगाएर कालिज, डाँफे, मयुर, मुनाल, लाम्पछ्रेजस्ता ६ सयभन्दा बढी प्रजातिका चरा बनाएका थिए। ती चराहरू ‘बर्डस् अफ नेपाल’ पुस्तकमा प्रकाशित भयो। अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत, फ्रान्स, स्वीजरल्याण्ड, साउदी अरब जस्ता विश्वका ठूल्ठूला अन्तर्राष्ट्रिय पुस्तकालयहरूमा ‘बर्डस् अफ नेपाल’ पुग्यो। उनलाई त्यसैका चित्रहरू हेरेर विभिन्न देशबाट चराका चित्रहरूको ‘अर्डर’ आउन थाल्यो। उनी हुलाकमार्फत् चित्र पठाउँथे र उनलाई उताबाट नेपाल बैंकमा पैसा पठाउने गर्थे।

प्रज्ञाप्रतिष्ठानले २०३९ सालमा ‘नेपालका चराहरू’ कृति प्रकाशित गरेका थिए। उनी २०६५ सालदेखि ‘वातावरण र चराहरू’ विषयमा वातावरण जोगाउन जनचेतनामूलक काम गर्दै आएका थिए। ‘वातावरण र चराहरू’ शीर्षकमा चित्रकला प्रदर्शनी गरेर चेतना जगाउने काममा समर्पित थिए। पहिला पानी रंग प्रयोग गर्ने पौडेल २०६५ देखि तैल चित्र बनाइरहेका थिए। भेटमा कलाले गर्दा बुढ्यौली जीवन निकै सहज भएको बताएका थिए। ‘म सधैं कलामै रमाइरहन्छु। त्यसैले दिन काट्न सजिलो भएको छ,’ उनले भनेका थिए, ‘आफ्नो रूचिको काम गर्दा दिन बितेको पत्तै हुँदैन। मर्निङ वाक, योगा, पूजापाठ र खाना खाएपछि पेन्टिङ गर्नु मेरो दिनचर्या हो।’

उनले प्रत्येक शनिबार वैदिक संघमा गएर धार्मिक क्रियाकलापमा संलग्न हुने गरेको पनि बताएका थिए। उनको विचारमा नेपाल चराहरूको स्वर्ग हो। यहाँ हिमाल, पहाड र तराई क्षेत्र छ। त्यसैले चराहरूलाई तापक्रम अनुसार आउजाउ गर्न सजिलो छ। नेपालमा रैथाने चराहरू छँदै छन्। यहाँ संसारमा नपाइने काँडे भ्याकुर पाइन्छ। साइबेरियाबाट कर्याङकुरुङ, चखेवो र सारस जस्ता थरिथरिका पाहुना चराहरू आउँछन्।

वातावरण खस्किँदै गएकाले पहिले जस्तो बथानै कर्याङकुरुङहरू आउँदैनन्। हामीले वातावरण जोगाएर चराहरूको संरक्षण गर्नुपर्छ।’ उनले विदेशबाट चराका अध्ययन गर्न आउनेहरूलाई आकर्षित गर्न राज्यले विशेष पहल गर्नुपर्ने बताएका थिए। उनले चराको कलाका लागि कोशी टप्पु, चितवनको सौराहा, शिवपुरी, पुल्चोकी, टौदह, चन्द्रागिरी जस्ता विभिन्न ठाउँ घुमेका थिए।

२०३१ सालमा सर्वप्रथम दार्जिलिङमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो। उनले काठमाडौं, चितवन, पोखरा, विराटनगर, भोजपुर जस्ता ठाउँमा विभिन्न समयमा एकल चित्रकला प्रदर्शनी गरेका थिए। उनले २०६४ सालमा विश्व वातावरण दिवसको अवसरमा ‘वातावरण र चराहरू’ शीर्षकमा एकल चित्र प्रदर्शनी गरेका थिए। उनले सातौं वालिङ महोत्सवमा एकल चित्रकला प्रदर्शनी गरेका थिए। उनको २०६२ सालमा कवितासंग्रह ‘शान्तिको आलोक’ पनि प्रकाशित छन्। उनलाई धर्मपत्नी साहित्यकार गंगा पौडेल कर्माचार्यले निरन्तर साथ दिइरहेकी थिइन्। उनले धर्मपत्नीको सुझावमा नेपाली कला विकासका लागि योगदान पुर्याउने उद्देश्यले २०६५ मा ‘हेमगंगा युवा कला प्रतिभा पुरस्कार’ स्थापना गरेका थिए।

निजी क्षेत्रबाट कलाको निम्ति स्थापना भएको यो पहिलो पुरस्कार हो। यसको पुरस्कार राशी १० हजार १ सय १ रूपैयाँ छ। चार लाख रूपैयाँ अक्षय कोष रहेको उक्त पुरस्कार प्रत्येक वर्ष अरनिको दिवसमा कलाको विधि विधामा योगदान पुर्याउने युवा कलाकारलाई प्रदान गरिँदै आएको छ। आफ्नै निवासमा ‘हेम आर्ट ग्यालरी’को स्थापना गरेर उनी एकसुर चराहरूकै संसारमा हराइरहेका थिए। दृढ इच्छा शक्ति र निरन्तर प्रयास भए सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण बनेको उनले विभिन्न ठाउँमा उत्कृष्ट कला प्रदर्शनी गरेका थिए। तर, कलापारखीहरू उनको योगदान अनुसारको सम्मान नभएको बताउँछन्। यसमा उनी कत्ति पनि गुनासो गर्दैन थिए। उनले साउदी अरबको आराम्को कम्पनीमा भएको चित्रकला प्रदर्शनीमा प्रथम पुरस्कार र नेपाल जापान कला प्रदर्शनी २०६२ प्रशंसापत्र पाएका थिए।

उडिरहेको डाँफेको पखेटा र पुच्छरको रङ, नाचिरहेको मयुर र माछापुछ्रेको काखमा चिरबिर गर्दै रमाइरहेको कालिजहरूको सौन्दर्ययुक्त चित्रले उनको ग्यालरी आउने जो कोही मन्त्रमुग्ध हुन्छन् नै। उनको कलामा प्रकृति र चराको आकर्षक संयोजन देखिन्छ। चराको चित्रसँगै अग्रभागमा आकर्षक हिमाल, पहाड, झ्याम्म परेको रूख र बिरुवालाई उनको कुचीले सौन्दर्य थपेको छ। उनको बारेमा मुकेश मल्लले ‘हेम पौडेलको अविरल कलायात्रा’ भन्ने पुस्तक लेखेका छन्। एकदिन जानु त सबैले पर्छ नै। तर, बाँचुञ्जेल देशका लागि केही न केही गर्नेको अवसानले धेरै मन दुखाउँदो रहेछ। अलबिदा हेम पौडेल।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस