२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानमा मतगणना अन्तिम चरणमा पुग्दा ९९ सिटमा इमरान खान समर्थित उम्मेदवार विजयी

इस्लामावाद । पाकिस्तानमा राष्ट्रिय सभाको २६६ मध्ये १५ क्षेत्रको मतपरिणाम आउन बाँकी रहँदा ९९ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेअनुसार शनिबार बिहानसम्म २५० सिटको नतिजा आउँदा सत्तारूढ पाकिस्तान मुस्लिम लिग नेश्नलिस्ट (पिएमएल-एन) दोस्रो बनेको छ। उसले ७१ सिट जितेको छ।

त्यस्ते बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टरियन्स (पिपिपी)ले ५३ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले १७ सिट जितेको छ।

स्वतन्त्र जितेका उम्मेदवारहरू पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित हुन्।

पिटिआईका अध्यक्ष समेत रहेका इमरान खान हाल रावलपिण्डीस्थित अडियाला जेलमा छन्। चुनाव सुरू हुनु केही समयअघि विभिन्न अदालतले उनलाई पटकपटक जेल सजाय सुनाएको थियो।

उनले गैरइस्लामिक विवाह गरेको भन्दै गत शनिबार एक अदालतले उनलाई सात वर्ष जेल सजाय सुनाएको थियो। त्यसअघि उनलाई नेसनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) ले राज्यको उपहार बेचेको आरोपमा १४ वर्ष जेल सजाय सुनाएको थियो। यी दुई मुद्दामा उनकी श्रीमती बुशरा बिबीसहितलाई जेल सजाय सुनाएको हो।

त्यसअघि साइफर मुद्दा अर्थात सरकारी गोप्य सूचना चुहाएको भन्दै १० वर्ष जेल समेत सुनाएको थियो।

पाकिस्तानको निर्वाचन आयोगले पिटिआइ पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

स्वतन्त्र उम्मेदवारी दिएका पिटिआई समर्थित उम्मेदवारहरूलाई अपमानजनक चुनाव चिह्न प्रदान गरिएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

नवाज शरिफको पार्टी पिएमएललाई यसपालि पाकिस्तानी सेनाको समेत समर्थन रहेको भनिएको थियो।

त्यसका बाबजुद पनि स्वतन्त्र उम्मेदवारहरूले सत्तारूढ दललाई पछि पारेका हुन्।

यद्यपि, सरकार बनाउन आवश्यक बहुमत भने कुनैपनि दलहरूले प्राप्त नगर्ने निश्चित भएको छ। अब १५ स्थानको परिणाम आउन बाँकी छ। बहुमत प्राप्त गर्न १६९ सिट जित्नुपर्छ।

पाकिस्तानमा राष्ट्रिय सभाका ३३६ सिटमध्ये २६६ सिटमा मतदान भएको हो बाँकी सिट आरक्षित हुन्।

४ प्रान्तको परिणाम पनि अन्तिमअन्तिम चरणमा पुगेको छ।

पञ्जाबमा २९६ प्रान्तीय सिटमध्ये १३१ सिट जितेर पिएमएल-एन ठूलो दल बनेको छ। त्यहाँ १२६ सिटमा पिटिआई समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् भने १० सिट मात्रै पिपिपीले जितेको छ।

सिन्धमा १३० वटै क्षेत्रको परिणाम आइसकेको छ। त्यहाँ पिपिपी ८४ सिटसहित पहिलो दल बनेको छ। मुत्ताहिडा क्वमी मुभमेन्टले सिन्धमा २८ सिट जितेको छ। पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले १४ सिट जितेका छन्।

खिबरमा ११३ मध्ये ९० सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। त्यहाँ पिएमएल-एनले ५ र पिपिपीले ४ सिटमात्रै जितेको छ। २ वटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ।

बलुचिस्तानको ५१ मध्य ४४ क्षेत्रको परिणाम आइसकेको छ।

त्यहाँ पिपिपीले ११ र पिएमएल-एनले ९ सिट जित्दा ५ सिटमा पिटिआई समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस