२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीरगञ्जका मेयरको दुईटी श्रीमती !

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रुविना श्रेष्ठ आफ्नै सक्कली छोरी भएको स्विकारेका छन्। आफ्नी दुइटा श्रीमती भएको र ‘नक्कली’ छोरी भनिएकी रुविना आफ्नै ‘सक्कली’ छोरी भएको छानबिन टोलीसँग स्वीकारेका हुन्।

मेयरले नक्कली छोरी बनाएर नागरिकता दिलाएको  सम्बन्धी उजुरीमाथि छानबिन गर्न उपसचिव पुष्कर रानाको संयोजकत्वमा खटिएको टोलीसँग सोधपुछको क्रममा मेयरले रुविना आफ्नो छोरी भएको बताएका हुन्।

आफू रुविना श्रेष्ठको नक्कली बाबु नभई सक्कली बाबु भएको स्पष्ट पार्दै आफ्नो एउटा नभई दुइटा श्रीमती भएको स्विकारेका छन्। उनले रुविना श्रेष्ठ कान्छी श्रीमती रिता भट्टराईबाट जन्मेकी बताएका छन्।

गृह मन्त्रालयको टोलीले गरेको सोधपुछको क्रममा प्रमुख सिंहले रिता भट्टराई नाम गरेकी आफ्नी कान्छी श्रीमती पनि भएको तर त्यो कुरा गोप्य राखेको बताएका हुन्। अनुसन्धान तथा सोधपुछमा मेयर सिंहले कुरा फेर्छन् कि भनेर लिखित, मौखिक र भिडियो बयान लिइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताएका छन्। मेयर सिंहले दिएको बयानको आधारमा आरोप पुष्टि गर्ने बयान आएकाले थप कारबाहीका लागि सहज भएको गृह स्रोतले जनाएको छ।

वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले नागरिकता किर्ते गरेको विरुद्धमा छानबिन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगन्ज पठाएको  थियो।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग नागरिकता किर्ते प्रकरणमा गृह मन्त्रालयको अनुसन्धान टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा मेयरसँग सवा २ घण्टा बयान लिइएका कार्यालयले जनाएको छ।

बयानको क्रममा मेयर सिंहले नागरिकता दिलाएको युवती आफ्नै छोरी भएको स्वीकारेपनि यो सत्य नभएको कतिपयको आशङ्का छ।  मेयर सिंहले जनप्रतिनिधिको हैसियतले निर्वाचन प्रक्रियामा भाग लिनेदेखि अन्य सबै प्रकारका विवरणमा एक श्रीमती र एक छोरा मात्रै रहेको यसअघि नै स्विकारेका थिए। निर्वाचन कार्यालय, बैंक लगायतका विवरणमा मेयर सिंह आफैले एकमात्र श्रीमती र एकमात्र छोरी रहेको उल्लेख गरेका छन्।

यसअघि नागरिकता किर्तेबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले कार्यालयकै कर्मचारीहरूको संलग्नता देखाएपछि थप अनुसन्धानका लागी गृह मन्त्रालयले उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुई सदस्यीय टोली वीरगन्ज पठाएको हो।

शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलीले एक श्रीमती र एक मात्र छोरा रहेको महानगरका मेयर सिंहले हुँदै नभएको छोरी बनाउँदा संलग्न कर्मचारी तथा सिफारिस कर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्ने सहितको अनुसन्धान गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ।

वीरगन्जका मेयर सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई किर्ते गरी नागरिकता बनाइदिएको खुलासा भएको थियो। सोही विषयमा विभिन्न ७ वटा निकायमा उजुरी परेको थियो।वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी भूपेन्द्रमान सिंह र रुक्मिणी देवी श्रेष्ठको कान्छो छोराका रूपमा २०२७ सालमा जन्मिएका राजेशमान सिंहको एक मात्रै श्रीमती अन्नपूर्णा मानन्धर भएको र उनीबाट एक मात्र छोरा अनिशमान श्रेष्ठको जन्म भएको भन्दै प्रमुख सिंहले झुटो विवरणको आधारमा रुविनाको जन्म दर्ता र नागरिकता बनाएको भन्दै उनीमाथि उजुरी परेको थियो।

मेयरको नागरिकता किर्तेबारे संघीय सदनमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा शाखा अधिकृत परशुराम पोखरेलसहितको समिति बनाएर वीरगन्ज पठाएको थियो।

विहिबार वीरगन्ज पुगेको गृहको टोलीले मेयरसँग बयान लिनु अगाडि शुक्रबार नागरिकता बनाउन सिफारिस गर्ने वडा नं. ३ को वडा कार्यालयका वडा अध्यक्ष, वडा सचिव र कार्यवाहक वडा अध्यक्षको बयान लिएको थियो।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस