२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

वीरगंज । वीरगंज महानगरका मेयर राजेशमान सिंहले नागरिकता दिलाइदिएका युवती रुबिना श्रेष्ठको जन्म दर्तामा नै किर्ते रहेको खुलासा भएको छ ।  किर्ते नागरिकता प्रकरण सार्वजनिक भएपछि अहिले मेयर सिंहमाथि गृह मन्त्रालयको छानबिन चलिरहेको छ ।

मेयरको नागरिकता किर्ते प्रकरण छानबिनका लागि वीरगंज पुगेको मन्त्रालयको टोलीलाई मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइदिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए । तर, उनले छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै फर्जी र नक्कली भएको सो प्रमाण पत्र जारी गर्ने वडा कार्यालयले जनाएको छ ।

सिंहले नक्कली कागजातमार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । रिता भट्टराईले जिल्ला अदालत पर्सामा पेश गरेको उक्त जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको देखिन्छ । तर, भिखारी रायले उक्त जन्म दर्तामा प्रयोग भएको हस्ताक्षर र नाम किर्ते गरिएको भिडियो बयान दिएका छन् । रायले उक्त प्रमाणपत्रमा गरिएको हस्ताक्षर र आफ्नो हस्ताक्षर फरक रहेको दाबी गरेका छन् । ‘यो जन्मदर्ता मेरो हस्ताक्षरबाट जारी भएकै होइन,’ रायले सिधाकुरासँग भने, ‘किर्ते स्ट्याम्प र हस्ताक्षर गरेर यो जन्म दर्ता बनाइएको छ ।’

सोही किर्ते जन्म दर्ताको आधारमा मेयर सिंहले विद्यालयका कागजात, नागरिकता, पासपोर्ट लगायतका कागजात बनाएको भन्दै उनले जन्म दर्तामा भएको कीर्तेबारे जुनसुकै निकायमा बयान दिन तयार रहेको बताए ।

सिंहले वीरगंज उपमहानगरपालिका कार्यालय, वीरगंज पर्साको दर्ता नम्बर २३४४ राखेर पारिवारिक लागत फारम नं. १०६/२०७१/२०७२ बाट जन्मदर्ताको प्रमाणपत्र तयार गरेका थिए । जन्म दर्ताको प्रमाणपत्रमा स्थानीय पञ्जिकरणको किर्ते हस्ताक्षर मात्र नभई बुवा भनिएको राजेशमान सिंहको नागरिकता नम्बर र आमा भनिएको रिता भट्टराईको नागरिकता नम्बर समेत गलत उल्लेख गरिएको पाइएको छ ।

नागरिकता किर्ते प्रकरणको छानबिन थप पेचिलो बन्दै गएपछि शनिबार मेयरले कारबाहीबाट जोगिन आफ्नो दुई वटा श्रीमती रहेको बयान गृह मन्त्रालयको समितिलाई दिएका थिए । सो बयानले मेयर पदको उम्मेदवार बन्दा पारिवारिक विवरण ढाँटेको आरोप लाग्ने भएपछि बहुविवाहको बयान आएकै भोलिपल्ट मेयरले नागरिकता दिलाइदिएका युवतीको आमा दाबी गर्ने रिता भट्टराईले मेयर सिंह आफ्नो श्रीमान भएको दाबी गर्दै जिल्ला अदालत पर्सामा अंश र छोडपत्रको फिराद दर्ता गराएकी थिइन् ।

वीरगंजका मेयर सिंहसँग ‘पति’ नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा

आफू मेयर सिंहको प्रेमिका भएको र उनले आफ्नो छोरीलाई बनाइ दिएको सबै कागजातको कारण पनि आफू श्रीमती पुष्टि हुने दाबी गर्दै भट्टराईले अंश र छोडपत्रको मुद्दा दायर गरेकी थिइन् । भट्टराईले अदालतमा पेश गरेको विभिन्न कागजातमध्ये जन्मदर्ता पनि एक थियो । सोही जन्मदर्ताको विवरण परिक्षण गर्दा स्थानीय पञ्जिकरण अधिकारीले सो विवरण फर्जी भएको बयान दिएका हुन् ।

प्रमाण नष्ट गर्दै मेयर सिंह

२४ पुस २०८० मा मेयर सिंहकोे नागरिकता प्रकरण सिधाकुराले सार्वजनिक गरेको थियो । त्यसअघिसम्म एक श्रीमती र छोरा मात्रै रहेको बताउने मेयरले अर्कै युवतीलाई बाबुको हैसियतमा झुटो विवरण पेश गरेर नागरिकता बनाइदिएको सार्वजनिक भएपछि उनीविरुद्ध विभिन्न ७ वटा निकायमा दर्जन बढी जाहेरी र निवेदन परेका छन् ।

नागरिकता  किर्तेमा कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरीका कार्यालयमा पनि जाहेरी दर्ता भएका छन् । तर, जिल्लाका सरकारी निकायहरूले मेयर सिंहलाई कारबाहीको दायरामा ल्याएका छैनन् ।  जाहेरी परेको एक महिना पुग्दा पनि छानबिनको दायरामा नपरेका मेयर सिंहले पर्याप्त समय पाउँदा प्रमाण नष्ट गर्न र अनुसन्धान प्रभावित गर्न भरपुर शक्ति लगाइरहेका छन् ।

हालसम्म बहुविवाह भन्ने नै लुकाएका मेयरले सरकारी निकायलाई नागरिकता प्रकरणमा ढाँट्न शनिबार बहुविवाहको बयान दिएका थिए । तर, सो बयान लगत्तै थप अप्ठ्यारोमा पर्ने देखिएपछि उनले कान्छी श्रीमती भनिएकी रिता भट्टराईलाई बयानको २४  घण्टा नबित्दै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न लगाए । भट्टराईले अदालतमा दर्ता गरेको फिराद पत्रमा आफू सिंहको श्रीमती कायम रहेको दाबी गरिएको छ तर त्यसलाई प्रमाणित गर्ने विवाह दर्ताको कागजात छैन । मेयर सिंहले रुबिनाका नाममा बनाइदिएको कागजातका आधारमा भट्टराईले श्रीमती दाबी गरेकी छिन् ।

यसअघि भएको किर्ते लुकाउन मेयर सिंहले एक पछि अर्को किर्ते गरिरहँदा सरकारी निकायले प्रमाण नष्ट गर्न यथेष्ट समय दिएको वीरगंजका स्थानीय मुकेश द्विवेद्वि बताउँछन् । ‘फौजदारी कसुर गरेका मेयर सिंहलाई ऐन अनुसार तत्काल पक्राऊ गरेर अनुसन्धान गर्नुपर्ने थियो तर उन्मुक्ति दिएर प्रमाणहरू नष्ट गर्न सरकार नै लागिरहेको छ,’ उनले भने ।

यस्तै, वीरगंज महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष रामकिशाेर सिंह परागले मेयर सिंहले नैतिकताको आधारमा पदबाट राजिनामा दिएर छानबिनमा सहयोग गर्नुपर्नेमा गृह मन्त्रालयको टोली समक्ष दोस्रो श्रीमती समेत रहेको बयानमा स्विकार्नु योजना अनुसार नै बताउँछन् । अझ मेयरले दोस्रो भनिएकी श्रीमतीबाटै छोडपत्रको निवेदन दिन लगाउनु हाँस्यास्पद भएको उनको प्रतिक्रिया छ ।

यस्तै वीरगंज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी मेयर राजेशमान सिंह र श्रीमती भनिएकी  रिता भट्टराईबीच कुनैपनि विवाह दर्ता वा कागजातहरूमा कहिँकतै नाम प्रमाणहरू नभएको बताउँछन् । किर्ते जोगाउन अदालतबाट छोडपत्र गराएपछि मेयर सिंहको श्रीमती भनेर रिता भट्टराई प्रमाणित भएपछि फौजदारी कसुर नलाग्ने आधारमा मेयर सिंहले कानुनबाट बच्न छोडपत्र गराउन लागेको उनको आरोप छ ।

किर्ते गरेका मेयरलाई पक्राउ नगरी बचाउमा लागेको भन्दै पर्सा प्रशासनको सडक देखि सदनसम्म आलोचना भइरहेको छ । तर, जिल्ला प्रशासन कार्यालयका प्रमुख दिनेश सागर भुसाल गृह मन्त्रालयबाट छानबिन भइहेको भन्दै पन्छिन्छन् । ‘हामी भन्दा माथिल्लो निकायले अनुसन्धान गरिरहेकाले उहाँहरूले केही न केही गरिहाल्नु हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस