२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्सलाई १३ रनमा अलआउट गर्दै नेपालको शानदार जित

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार जीत हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको कीर्तिमानी अन्तरले हराएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भएको हो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए ।

यसअघि नेपालले रुविना क्षेत्रीले शतक बनाएपछि नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा कीर्तिमानी २ सय २७ रन बनाएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाइन् । केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेले ।

रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला टी–२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।

चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी टी–२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।

रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस