२०८१ असोज २८ गते सोमवार | 2024 October 14th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महामञ्जुश्रीमा मन्दिरमा बिहानैदेखि घुइँचो

भक्तपुर । आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले जानकारी दिए ।

हामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार यहाँ हरेक वर्ष श्रीपञ्चमीका दिन भीड लाग्ने गर्दछ । आज विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक शिक्षिका बिहानैदेखि दर्शन एवं पुजाका लागि मन्दिर पुगेका थिए । त्यसैगरी आजै चाँगुनारायण–१ सरस्वतीखेलस्थित सरस्वती मन्दिरमा पनि उपत्यकाबाट आएका दर्शनार्थीको भीड लागेको छ । सरस्वती मन्दिरकै नामबाट गाउँको नाम रहन गएको यो ठाउँमा बिहानैदेखि भीड लागेको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।

यस्तै भक्तपुर नगरपालिकाको भेलुखेलस्थित सरस्वती मन्दिर, नागपोखरीको सरस्वती मन्दिर, च्वङापाखा (सल्लाघारी) को सरस्वती मन्दिर, सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सरस्वती मन्दिरलगायतका मन्दिरमा दर्शनार्थी पुगेका छन् । आजै काठमाडौँको स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायतका सरस्वती मन्दिरमा पनि भीड लाग्ने गर्दछ ।

सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख) बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो । काठमाडौंका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन तथा विद्यार्थीको घुइँचो लागेको छ ।

स्वयम्भुनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकासहित आफन्तजनको भीड छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र वुद्धि धेरै हुने जनविश्वास रहीआएको छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् । विद्या र सृजनाकी देवी भएकाले सबैले आ–आफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् । रासस

 

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस