२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

८३२ जना नेपाली चिकित्सकको नतिजा रद्दविरुद्ध अमेरिमामा मुद्दा, अंक धेरै देखेपछि चोरको आरोप

Case in America against cancellation of results of Nepali doctors

काठमाडौं । युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) लाई निर्देशित गर्ने नेसनल बोर्ड अफ मेडिकल एक्जामिनर्स (एनबीएमई) ले नेपाली चिकित्सकहरूले प्रश्नपत्रमाथि अनधिकृत पहुँच कायम गरेको पूर्ववत् आरोपलाई नै परीक्षाको नतिजा रद्द गर्नुको प्रमुख कारण भएको दलिल अमेरिकी अदालतमा पनि पेस गरेको छ । यूएसएमएलईले ८ सय ३२ जना नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्दको निर्णयविरुद्ध गत माघ २९ (फेब्रुअरी १२) मा डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बिया, वासिङ्टनमा एक नेपाली परीक्षार्थीले दायर गरेको मुद्दाको जवाफ दिँदै एनबीएमईले त्यसका पछाडिका कारण स्पष्ट पारेको हो । एनबीएमईका अनुसार हाल ६ सय १८ जना नेपाली परीक्षार्थीको एउटा स्टेपको नतिजा, २ सय २ जनाको दुईवटा स्टेपको नतिजा र १२ जनाको तीनवटै स्टेपको नतिजालाई रद्द गरिएको हो । यसका साथै नतिजा रद्द गरिएका परीक्षार्थीहरूले २०२१, २०२२ र २०२३ मा परीक्षा दिएका हुन् ।

नेपाली चिकित्सकले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा यूएसएमएलईलाई निर्देशित गर्ने एनबीएमईलाई प्रमुख विपक्षी बनाइएको छ । अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै एनबीएमईलाई फागुन २ (फेब्रुअरी १४) मा पत्राचार गर्दै फागुन ६ (फेब्रुअरी १८) मा जवाफ दिन आदेश गरेको थियो । एनबीएमईको जवाफ प्राप्त भएको २४ घण्टाभित्र नेपाली चिकित्सकका वकिललाई जवाफ पेस गर्न भनिएको थियो । अदालतले फेब्रुअरी २१ सम्म ठोस निर्णय गर्ने जानकारी दुवैलाई दिएको छ । अदालतबाट निर्णय नभएसम्म परीक्षार्थीलाई पुनरावलोकनमा दिइएको फेब्रुअरी १५ सम्मको समयसीमा भने न्यायाधीशले स्थगन गरिदिएका छन् । यसले परीक्षार्थीहरूलाई केही राहत भने मिलेको छ ।

एनएमबीईले परीक्षामा परीक्षार्थीहरूले आफ्नो ज्ञान र चिकित्सकीय सीपभन्दा पनि प्रश्नको स्रोतमाथि पहुँच कायम गरेर सहभागी हुनु गम्भीर विषय भएको उल्लेख गरेको छ । ‘यूएसएमएलईले परीक्षार्थीहरू नेपाली भएकैले नतिजा रद्द गरेको मुद्दा दायरकर्ताको आरोप सही छैन,’ जवाफमा भनिएको छ, ‘यद्यपि यूएसएमएलईका कर्मचारीले असल नियतमा नै परीक्षार्थीले प्राप्त गरेको नतिजामा प्रश्न उठाइएको हो ।’ नेपाली भएकैले यूएसएमएलईले विभेदपूर्ण रूपमा परीक्षार्थीको योग्यता र भविष्यमाथि प्रश्न उठाउँदै नतिजा रद्द गर्नु गैरकानूनी भएको दाबी गर्दै नेपाली चिकित्सकले मुद्दा दायर गरेका हुन् । समग्रमा नेपाली चिकित्सकलाई ‘चोर’ दोष लगाउनु गलत भएको पनि जिकिर छ । यसका साथै नेपाली परीक्षार्थीहरूलाई बोर्डले उचित क्षतिपूर्तिसमेत दिनुपर्ने दाबी गरिएको छ ।

बोर्डले उठाएका प्रश्नहरूको जवाफ दिँदै नेपाली चिकित्सकतर्फका वकिलले नेपाल र नेपाली परीक्षार्थीलाई नियतवश केन्द्रित गरेर तथ्यांक संकलन गरेकैले त्यस प्रकारको विश्लेषण अगाडि आएको दाबी गरेको छ । ‘बोर्डले आफ्नो परीक्षा लिने तरिकामा रहेको त्रुटिलाई लुकाउन एउटा देशलाई केन्द्रित गरेर अनुसन्धान गरिनु नै गलत छ,’ नेपाली चिकित्सकतर्फका वकिलले बोर्डका प्रश्नको जवाफमा भनेका छन्, ‘यूएसएमएलईका उपाध्यक्ष एलेक्स जे म्याकेम्बर स्वयंले ठूलो संख्यामा अन्य देशका परीक्षार्थीहरूले पनि सोही प्रकारको गैरकानूनी क्रियाकलाप गरेको स्वीकार गरेका छन् । यस्तोमा नेपाललाई मात्रै तोकेर निर्णय लिइनु गलत छ ।’

साथै, अरू परीक्षार्थीहरूलाई परीक्षामा अनियमितता गरेको शंका लागेमा गरिने व्यवहार र नेपाली परीक्षार्थीलाई गरिएको व्यवहारले पनि बोर्डको नियतमाथि नै शंका उत्पन्न गराएको मुद्दामा दाबी गरिएको छ । ‘नेपाली परीक्षार्थीलाई स्पष्टीकरणको मौका नै नदिई एकीकृत रूपमा प्राप्त नतिजा रद्द गर्नु गलत छ,’ दायर मुद्दामा भनिएको छ, ‘साथै, नतिजा रद्द भएका नेपाली परीक्षार्थीले पुनरावलोकनका लागि निवेदन दिए पनि त्यसको सुनुवाइ गर्न थोरैमा १० साता लाग्ने बताइएको छ । यस्तै पुनः परीक्षा दिन चाहेको खण्डमा बोर्डले भनेको स्थानबाट परीक्षा दिनुपर्ने, दुई परीक्षाबीच एक वर्षको अन्तराल हुनुपर्ने पनि उल्लेख छ । यी नियम अन्य परीक्षार्थीका लागि लागू गरिएको छैन ।’ यसका साथै मुद्दामा अन्य देशका कति परीक्षार्थीहरूमाथि शंका लागेकै भरमा नतिजा रद्द गरिएको छ, त्यो पनि नखुलाइएको र उनीहरूको देशको नाम पनि सार्वजनिक नगरिनु पनि आफैंमा गलत व्यवहार भएको उल्लेख छ ।

यूएसएमएलईले विभिन्न देशका परीक्षार्थीहरूले पूर्वप्रश्नपत्रहरू गैरकानूनी रूपमा जम्मा गरेर आदानप्रदान गर्ने गरेको सूचना प्राप्त गरेपछि अनुसन्धान सुरु गरेको एनबीएमईले दाबी गरेको छ । ‘एनबीएमईका साइकोमेट्रिसियनले विभिन्न देशका परीक्षार्थीहरूले कस्तो नतिजा प्राप्त गरिरहेका छन् भनेर प्रारम्भिक मूल्यांकन गर्दा धेरैभन्दा धेरै नेपालबाट परीक्षामा सहभागी भएकाहरूले सामान्यभन्दा अत्यधिक अंक प्राप्त गरिरहेको देखियो,’ जवाफमा भनिएको छ, ‘तसर्थ यूएसएमएलईले ती परीक्षार्थीहरूलाई पहिलो प्राथमिकतामा राख्दै अन्य देशका परीक्षार्थीहरूको पनि अनुसन्धान गरिरहेको छ ।’ बोर्डका अनुसार यूएसएमएलईका अधिकारीहरूले विभिन्न देशका परीक्षा केन्द्रबाट सहभागीहरू अनियमिततामा संलग्न रहेको सूचना पाए पनि नेपालबाट सहभागी भएकाहरूको संख्या उच्च भएकाले म्याचिङपूर्व नै ठोस निर्णय गर्नुपर्ने अवस्था आएको हो । साथै, यूएसएमएलईले परीक्षार्थीहरूले प्राप्त गरेको नतिजालाई रद्द गर्दै उनीहरूलाई सो निर्णयकाविरुद्ध स्पष्ट धारणा राख्न तथा पुनः परीक्षा दिनका लागि पनि समय प्रदान गरिएको बताइएको छ ।

यद्यपि मुद्दा दायरकर्ता नेपाली चिकित्सकले भने त्यसरी रेजिडेन्सीलाई म्याचिङ हुने पूर्वसन्ध्यामा एक देशका परीक्षार्थीलाई मात्रै केन्द्रित गरेर निर्णय गरिनु नै दुराशययुक्त कार्य भएको दाबी गरेका छन् । एनबीएमईले भने परीक्षार्थीहरूलाई परीक्षामा सामेल हुनुपूर्व नै परीक्षाको समयमा वा परीक्षा सकिएपछि पनि औपचारिकरअनौपचारिक रूपमा परीक्षामा आएका प्रश्न र सामग्रीबारे छलफल गर्नु वा सामाजिक सञ्जालबाट साझा गर्नु गलत भएको जानकारी दिइने गरेको बताएको छ । ‘परीक्षाका प्रश्नपत्र वा परीक्षा सामग्री संकलन गर्नु, खोजी गर्नु, अनलाइन वा व्यक्तिगत रूपमा प्राप्त गर्ने प्रयास गर्नु गलत हो भनेर परीक्षार्थीहरूलाई जानकारी दिइएको पत्रमा हस्ताक्षर पनि गराइने गरिन्छ,’ बोर्डले भनेको छ ।

बोर्डको साइकोमेट्रिक्स एन्ड डाटा एनालाइसिस ९पीएडीए० युनिटले नेपाललगायत जोर्डन, पाकिस्तान र भारतका दुईवटा परीक्षा केन्द्रको तथ्यांक विश्लेषण गरेकोमा नेपालबाट प्राप्त भएको नतिजामा चरम अनियमितता देखिएका दाबी गरेको छ । बोर्डले विश्वभरका चार सय बढी परीक्षा केन्द्र (अमेरिका र क्यानडामा रहेको ३१५) को नतिजा विश्लेषण गर्दा नेपालबाट सहभागी भएकाहरूले औसतमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने गरेको देखिएको र पछिल्लो समय नेपालबाट सहभागी हुने परीक्षार्थीको संख्यामा पनि ३.५ गुणाले बढोत्तरी हुँदा शंका गर्नुपर्ने प्रशस्त कारण भएको दाबी गरेको छ । बोर्डका अनुसार नेपालबाट परीक्षामा सहभागी हुनेहरूको औसत अंक नै २४० रहेको र अन्य देशबाट सहभागी हुनेहरूको औसत उच्च अंक २२७ मात्रै रहेको छ ।

‘पीएडीएले अप्रिल २०२३ मा परीक्षार्थीहरूले दिएको जवाफको पनि विश्लेषण गरेको थियो । जसमा नेपालको केन्द्रबाट सहभागी अधिकांश परीक्षार्थीले दिएको एकभन्दा बढी प्रश्नको गलत उत्तर एकै प्रकारको थियो,’ जवाफमा भनिएको छ, ‘जोर्डन, पाकिस्तान र भारतबाट सहभागी भएकाहरूमा समेत यो समस्या देखिए पनि नेपाली केन्द्रबाट सहभागीहरूमा यो प्रवृत्ति अत्यधिक छ ।’ यूएसएमएलईले नयाँ प्रश्नहरू समावेश गर्नु केही महिना अगाडि पुराना प्रश्नहरूमा आधारित रहेको परीक्षा दिनेको संख्यामा भएको बढोत्तरीलाई सामान्य मान्न नसकिने पनि बोर्डको भनाइ छ ।

यूएसएमएलईको कस्टमर एक्सपिरियन्सका निर्देशक कोलिन वार्डले अदालतलाई आफ्नो लिखित बयान पेस गर्दै नेपाली परीक्षार्थीहरू सहभागी रहेका विभिन्न सामाजिक सञ्जालका समूहबारे लिखित उजुरी आएको र त्यसबारे अनुसन्धान गर्दा परीक्षार्थीले अगाडिका परीक्षाको प्रश्न संकलन गरेर अध्ययन गर्ने गरेको पुष्टि हुने बताए । उनले उक्त समूहहरूमा परीक्षार्थीहरूले प्रश्नका बारेमा मात्रै सवाल जवाफ नगरेर समय अगावै परीक्षा केन्द्रबाट परीक्षा सकाएर बाहिरिँदा बोर्डले शंका गर्नेबारे पनि एकअर्कालाई सचेत गराएको दाबी गरिएको टेक्स्ट मेसेज समावेश गरिएको छ ।

‘सबैलाई हेलो, परीक्षा केन्द्रमा पीक्यूका बारेमा कुरा गर्नु र तोकिएको समयभन्दा आधा अगाडि नै बाहिरिनुको नतिजा सबैलाई थाहै होला । परीक्षा त्यति अगाडि सकाउने गरी कसैसँग पनि सुपर पावर हुँदैन । के हो ? तिमीहरू मूर्ख छौ कि के हो ? अब यो समूहलाई बन्द गरौं जसले गर्दा तिमीहरूलाई तोकिएको समयसम्म परीक्षा केन्द्रमा बस्न सहयोग पुग्छ । बधाई छ । तिमीहरू यहाँको केन्द्र र यो यात्रालाई बन्द गराउन धेरै अगाडि बढ्यौ,’ वार्डले बयानमा पेस गरेको टेक्स्ट मेसेजमा उल्लेख छ ।

अमेरिकामा चिकित्सा क्षेत्रमा उच्च अध्ययनका लागि नेसनल बोर्ड अफ मेडिकल एक्जामिनर्स (एनबीएमई) तथा फेडेरेसन अफ स्टेट मेडिकल बोर्डद्वारा सहप्रायोजित युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले तीन तहमा गरेर अमेरिकालगायत विश्वका मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस पास गरेका चिकित्सकहरूको परीक्षा लिने गर्छ । स्टेप १ र स्टेप २ मा परीक्षार्थीहरूको चिकित्सकीय ज्ञानका बारेमा परीक्षा लिइन्छ । यो परीक्षा नेपाललगायत विश्वका चार सय बढी परीक्षा केन्द्रबाट दिन सकिन्छ । यस्तै स्टेप ३ परीक्षा भने चिकित्सकले उच्च अध्ययनका क्रममा बिरामीको व्यक्तिगत रूपमा उपचार गर्न सक्षम छ या छैन भन्ने सीपको परीक्षण हो । यो परीक्षा दिनका लागि भने अमेरिका नै जानुपर्छ ।

परीक्षार्थीहरूले यूएसएमएलई दिएपछि अमेरिकाको नेसनल रेसिडेन्ट म्याचिङ प्रोग्रामले निर्धारित गर्ने ‘म्याचिङ’ प्रक्रियामा सामेल हुन योग्य हुन्छन् । यो प्रक्रियामा सामेल हुने स्टेप १ र २ परीक्षा उत्तीर्ण गरेर एजुकेसनल कमिसन फर फरेन मेडिकल ग्राजुएट्स (ईसीएफएमजी) बाट प्रमाणित भएको हुनुपर्छ । यो प्रक्रियामा सामेल हुन स्टेप ३ परीक्षा उत्तीर्ण गर्नु अनिवार्य नभए पनि अधिकांश रेसिडेन्सी कार्यक्रमले यो परीक्षा पास गरेमा प्राथमिकतामा राख्ने गरेका छन् । म्याच प्रक्रियाका लागि हरेक वर्षको सेप्टेम्बरदेखि जनवरी ३१ सम्म रेजिस्ट्रेसन लिन सुरु गरिन्छ । फेब्रुअरी १ देखि परीक्षार्थीहरूले आफूले रुचाएको कार्यक्रम अनुसार वर्गीकरण गर्छन् । साथै, कार्यक्रमले पनि आफ्नो कार्यक्रममा इच्छा जनाएका परीक्षार्थीहरूबाट उचित लागेअनुसार वर्गीकरण गर्छन् । यो प्रक्रिया फेब्रुअरी २८ सम्म चल्छ । मार्च ११ मा कुन परीक्षार्थी कुन कार्यक्रमका लागि कहाँ छनोट भए भन्ने घोषणा हुन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस