२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठबन्धन खरानीको डल्लो, सुकाए पनि फुट्छ, भिजाए पनि फुट्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गर्नुभएको छ । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताउनुभयो ।

तर, त्यो खरानीको डल्लो भएकोले कुनै पनि बेला फुट्ने ओलीले टिप्पणी गर्नुभयो । ‘यो खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ’, ओलीले भन्नुभयो । अध्यक्ष ओलीले कांग्रेसको सोच, विचार, चिन्तन केही पनि नभएको बताउनुभयो । कांग्रेसले सरकार र सत्तामा पुग्ने बाहेक केही थाहा नपाउने ओलीको भनाई छ । ‘अरू कुरा छाड्यो कांग्रेसले’, उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा ओलीले सरकार फेरबदलको खेलमा एमाले नरहेको प्रष्ट पार्नुभयो । ‘गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन २०८४ मा छौँ’, ओलीले भन्नुभयो । ओलीले आफूहरूको ध्यान मिसन ८४ मा केन्द्रित रहेको बताउनुभयो । २०८४ मा हुने चुनावमा एमाले बहुमत सहितको दलमा स्थापित हुने ओलीको दावी छ । राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने ओलीले बताउनुभयो ।

उहाँले अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएको कारण नागरिकमा निराशा छाएको बताउनुभयो । त्यसलाई सुदृढ गर्न र जनतामा आशा जगाउन एमालेले मिसन २०८४ भनेको उहाँको भनाई थियो । एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्नुपर्छ भनिरहेको छ, सबैको सहमतिमा पीडित मैत्री हुने गरी सो विधेयक पास गर्नुपर्ने हाम्रो अडान छ ओलीले भन्नुभयो ।

सरकारले बनाएकै समितिले दोषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो । मानव हत्याको विषयमा दोषी ठहरिएका व्यक्तिलाई झण्डा हल्लाएर हिँड्ने अधिकार नरहेको ओलीको भनाई थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस