२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

केही ठूला बैंक डुब्न लागेको भन्ने त्रासका बीच राष्ट्र बैंक बोल्यो [विज्ञप्तिसहित]

काठमाडौं । विगतमा कतिपय बैंक वित्तीय संस्थाहरु राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षणबाट ‘असाध्यै राम्रो’ देखिएको केही हप्ताभित्रै ‘समस्याग्रस्त’ घोषित भएका थिए । ती उदाहरणलाई पन्छाएर केन्द्रिय बैंकले सिङ्गो वित्तीय प्रणालीको प्रतिरक्षा गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’

राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई अर्थ व्यवस्थाको ‘मेरुदण्ड’ भन्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ । सबै वित्तीय संस्थाको कारोबारको नियमित निगरानी आफूहरुले गरिरहेको जनाउँदै राष्ट्र बैंकले ‘सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको’ भनेको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्था लगायत परिसूचकहरूमा सवाल उठ्न थालेपछि राष्ट्र बैंकले यस्तो विज्ञप्ति जारी गरेको हो । कुनै संस्थामा यस्ता परिसूचकहरू एवम् कर्जा, संस्थागत सुशासन लगायतका विषयमा समस्या देखियो भने राष्ट्र बैंकले समय–समयमा आवश्यक निर्देशन दिएर सुधार गराउँदै आएको भनेको छ ।

‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागि सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस