२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली, प्रचण्ड र नेपालको यसरी भयो मन माझामाझ : सत्ता गठबन्धनमा नेकपा एस ल्याउन सफल

Oli Prachanda Madhav 2

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एकीकृत समाजवादीसँग पनि छलफल गर्दैछन्। एकीकृत समाजवादीले पनि आज बिहान ११ बजे सचिवालयको बैठक आह्वान गरेको छ। बैठकले गठबन्धनमा सहभागी हुने, नहुनेबारे निर्णय लिनेछ।

नयाँ सत्ता गठबन्धनको सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए। प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीलाई नयाँ गठबन्धनले मिलेर जान प्रस्ताव गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ माधवकुमार नेपाललाई निवासमै भेटेर औपचारिक प्रस्ताव गरेका थिए। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव भूसालले बताए। ‘प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव गर्नुभयो,’ महासचिव भूसालले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले लामो पृष्ठभूमि जोड्दै घटनाक्रमबारे बताउनुभयो। हामीले भोलि बस्ने सचिवालय बैठकले निर्णय गर्ने कुरा बतायौं।’

नेपाल निवास कोटेश्वरमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव भूसाल थिए। प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भएदेखि नेपाली कांग्रेसको महासमिति बैठकले पैदा गरेको संशयसम्मका घटनाक्रमको पृष्ठभूमि बाँधेको बैठकमा सहभागी अर्का नेताले बताए।

‘यी सबै घटनाक्रमले संशय पैदा गरेपछि हामी छलफलमा थियौं। बाहिर कुरा चुहिन्छ कि भनेर डर थियो र तपाईंसँग छलफल हुन पाएन। अब सहकार्य गरेर जाऔं। हिजो गल्ती, कमीकमजोरीबारे बसेर समीक्षा गर्दै जाऔंला। अहिले चाहिँ मिलेर अघि बढौं,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी अर्का नेताले बताए। मंगलबार साँझ साढे ६ बजेदेखि सुरू भएको बैठक दुई घन्टा चलेको थियो। बैठकमा एमाले अध्यक्ष ओली लचिलो रूपमा प्रस्तुत भएको र विगतका कमजोरीप्रति समीक्षा गर्न तयार रहेको आफूहरूले बुझेको ती नेताले बताए।

उनका अनुसार मंगलबारको भेटपछि अध्यक्ष नेपाल पनि निकै सकारात्मक छन्। आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले गठबन्धनमा सहभागी हुने निर्णय गर्ने सम्भावना बढेको ती नेताले बताए। ‘विगतमा यस्ता गठबन्धन बनेका छन्। पार्टी एकता पनि भएकै हो। तर बीचमै दुर्घटित भएर तितरवितर हुनुपर्‍यो। अहिलेको गठबन्धनको यात्रा कहाँसम्म हो, यसको राजनीतिक, वैचारिक कुनै बाटो छ कि, सत्ता मात्रै हो भनेर लामो छलफल भयो,’ ती नेताले भने, ’उहाँहरू छलफल र समीक्षाका लागि पनि सकारात्मक देखिनुभएको छ। बसेर आत्मसमीक्षा गर्दै जाऔंला भन्नुभएको छ। आजको कुराकानीबाट हामी सकारात्मक छौं।’

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच सोमबार पनि कुराकानी भएको थियो। बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपालसँग उनकै निवासमा कुराकानी भएको थियो। सोमबारको छलफलमा नयाँ गठबन्धनबारे आफूलाई थाहा नदिएको भन्दै नेपालले असन्तुष्टि राखेका थिए।

वामपन्थी ध्रुवीकरणको कसरतमा लागेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली नेता नेपाललाई फकाउन मंगलबार कोटेश्वर नै पुगेका हुन्। पार्टी विभाजनपछि अध्यक्ष ओली पहिलो पटक नेपाल निवास पुगेका हुन्। ओलीले सोमबार साँझ पनि अध्यक्ष नेपाललाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव गरेका थिए।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस