२०८१ बैशाख १६ गते आइतवार | 2024 April 28th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्री लामिछाने नै उपस्थित भएर आरती शाहका परिवारबीच सहमति (पत्रसहित)

कठमाडौं । आन्दोलनरत आरती शाहका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ । आज उनीहरुबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । उनीहरुसँग गृहमन्त्री रवि लामिछाने नै उपस्थित भएर सहमति गरेका हुन् ।

लामो समयदेखि आन्दोलनरत् साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएपछि जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउने सहमति भएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । त्यसक्रममा अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको मन्त्रालयले जनाएको छ ।

सहमति अनुसार, अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको छ । जसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएको कमी कमजोरीहरुका बारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको छ । यस विषयमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लेखित विषय समेतलाई अध्ययन गर्ने भनिएको छ । घटनाबारे तयार भएका चिकित्सकीय प्रतिवेदनहरु समेत अध्ययन गर्ने भनिएको छ ।

त्यसबाट प्राप्त प्रमाणका आधारमा कानून अनुसार पुनः अभियोजन समेत गर्ने भनिएको छ । साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने समेत भनिएको छ । योसँगै परिवारका तर्फबाट भएका आन्दोलनका कार्यक्रम रोकिने भएका छन् । सहमतिमा परिवारका तर्फबाट निर्मलादेवी साह, दाजु प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस