२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समृद्धिको लक्ष्य साकार गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न क्रियाशील रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गरी राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएको उल्लेख गरे। उनले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता प्रवर्द्धन तथा राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताए ।

प्रधानमन्त्री दाहालले एक महिनासम्म मनाइने रमजान पर्वमा महिनाभरिमा इस्लाम धर्मावलम्बी सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने उल्लेख गरे । रमजान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भावजस्ता पवित्रताका अभ्यासको संयोजनका रूपमा रहेको बताए।

प्रधानमन्त्री दाहालले रमजानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्नेसमेत गरिने उल्लेख गरे । यस पर्वले मानिसलाई सत्मार्गमा डोर्‍याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीलगायत समस्त दिदीबहिनी तथा दाजुभाइमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले यस पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन्।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस