२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले कास्की जिल्ला अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित, खगराज प्यानलबाट सबै पद कब्जा

पोखरा । नेकपा (एमाले) को कास्की जिल्ला अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् । पृथ्वीसुब्बा गुरुङ समूहका माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैनबहादुरले ५५१ मत ल्याउँदा बास्तोलाले ३४७ मत पाए । कुनै पनि गुटमा सामेल नभएका विवेक त्रिपाठीले १७ मत पाए । सबै पाँच जना पदाधिकारी खगराज समूहकाले नै जितेका छन् । साथै, सदस्यसम्म अधिकारी समूहको प्यानल नै बिजयी भएको छ । उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बराल बिजयी भए । बरालले प्रतिष्पर्धी शिव आचार्यलाई १३९ मतले पछाडि पार्दै बिजयी भएका हुन् । बिजयी बरालले ५२७ मत ल्याएर बिजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३८८ मत प्राप्त गरे ।

सचिवमा अधिकारी प्यानलकै दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । लोकप्रिय मत ल्याएर सचिवमा विजयी दर्शन लामा यसअघि उपसचिव थिए । उपसचिव (महिला) मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १६६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् ।

सुवेदीले ५१० मत प्राप्त गर्दा योगीले ३४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् । अर्को एक उपसचिवमै अधिकारी प्यानलकै लालबहादुर परियार बिजयी भए । उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २४७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी परियारले ५८१ मत प्राप्त गर्दा पराजित विश्वकर्माले ३३४ मत प्राप्त गरे । खुल्ला ५ सदस्यमा झपट रानाभाट ५६७, ईमानराज पौडेल ५३५, तोरणबहादुर बानिया ५७७, बलराम पौडेल ५०८, मोहन सुवेदी ६१९ मत ल्याएर बिजयी भएका छन् । महिला ३ सदस्यमा उषा बरुवाल (५२९), कल्पना भवाँजी क्षेत्री (४९७) र विष्णु सुवेदी (५०५) मत ल्याएर बिजयी भए । २०७८ मा भएको कास्की जिल्ला निर्वाचनमा पनि पृथ्वीसुब्बा र खगराज गुटबीच प्यानलगत प्रतिस्पर्धा हुँदा मिश्रित नतिजा आएको थियो । कास्कीमा २०७८ पुस २८ गते पृथ्वीसुब्बा समूहबाट अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी र खगराज समूहबाट सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) विजयी भएका थिए ।

 

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस