२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभ्रेको पाँचखालमा बाबु, छोरी र छोरा एकै पटक एसईईमा

पाँचखाल । पाँचखाल नगरपालिका वडा नम्वर १ मा रहेको ज्ञानेश्वरी माध्यमिक विद्यालयका कार्यालय सहयोगी मणिराज दाहाल सहित छोरी मनिषा र छोरा मनिष एसईई परीक्षा २०८० मा सामेल भएका छन् । मणिराज र मनिषले ज्ञानेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् भने छोरी मनिषाले पाँचखालमा रहेको सरस्वती शिक्षा गृहमा अध्ययन गरेकी हुन् ।

४१ वर्षको उमेरमा पहिलो पटक एसईई परीक्षामा सामेल हुने अवसर पाएको मणिराजले बताए । ‘छोरा मनिष ज्ञानेश्वरीमा भर्ना भए पछि बाबु समेत रहेका कार्यालय सहयोगी मणिराजले आफुलाई पनि अध्ययन गर्न र एसईई पास गर्ने चाहना भएको बताए पछि विद्यालय परिवारले उनलाई कार्यालय सहयोगिको जिम्मेवारी सहित अध्ययनको वातावरण मिलाएको थियो’–विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम कँडेलले भने–‘यस अघि विविध कारणवश उनले अध्ययन गर्न र एसएलसी तथा एसईई परीक्षामा सामेल हुन पाएका पनि रहेनछन् । अहिले चाहना गरे पछि वातावरण बनायौं । बाबु छोरा सँगै अध्ययन गरेर एकै पटक एसईईमा सहभागि भएका छन् । ’

काम र अध्ययन सँगसँगै गरेका मणिराजको पहिलो दिनको परीक्षा राम्रो भएको प्रतिक्रिया दिएको सहायक प्रधानाध्यापक कँडेलले बताए । बाबु छोराको परीक्षा केन्द्र सर्वमंगला मावी पाँचखाल रहेको छ भने छोरी मनिषाको केन्द्र दुधेश्वर माविमा रहेको छ । पहिलो दिनको परीक्षामा ९१ जना विद्यार्थी अनुपस्थित थिए । परीक्षामा नियमित तर्फ ५ हजार ९ सय ६१ मध्ये ५ हजार ८ सय ४६ विद्यार्थी सहभागि भएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस