२०८३ जेष्ठ २० गते बुधवार | 2026 June 3rd Wednesday

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

Work permits open to workers going to Russia, closed to Israel

काठमाडौं । वैदेशिक रोजगार विभागले रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला गरेको छ । विभागले रुसमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदार रसिया सेनामा भर्ना नभएको भन्दै स्वीकृति दिन थालेको हो । विभागले गत पुस १९ मा रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

त्यसअघि नै रुसी सेनामा नेपाली भर्ती सम्बन्धमा अध्ययन गर्न श्रम मन्त्रालयले मंसिर १४ मा अध्ययन टोली गठन गरेको थियो । टोलीले श्रम स्वीकृति लिई गएकाहरू रुसी सेनामा भर्ती नभएको प्रतिवेदन बुझाएको थियो । ‘हामीले धेरै अनुसन्धान गर्‍यौं । अनुसन्धानले म्यानपावरमार्फत श्रम स्वीकृति लिएर रुस पुगेका नेपाली कामदारहरू एक जना पनि रसिया सेनामा भर्ना भएको देखिएन,’ विभागका महानिर्देशक डन्डुराज घिमिरेले भने, ‘जुन कम्पनीमा गएको हो, त्यहीं काम गरिरहेको देखियो ।’ उनले मन्त्रीस्तरबाट नभई सचिवस्तरको निर्णयबाट श्रम स्वीकृति दिने नीतिलाई खुलाइएको जानकारी दिए ।

विभागले म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया भने स्थगित गरेको छ । बी–टु–बी (म्यानपावरबाट) मार्फत कामदार लैजाने विषयमा श्रम मन्त्रालयबाट पुनरावलोकन लागि समिति गठन भई अध्ययन भइरहेकाले मंगलबारदेखि भर्ना प्रक्रिया स्थगित गरिएको विभागले जनाएको हो ।

 

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस