२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

तत्कालीन डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, चैत २० । नेपाल प्रहरीका तत्कालीन डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो।

केसीलाई दुई वर्ष कैद सजाय र आठ लाख ५० हजार रूपैयाँ बिगो जरिवाना हुने फैसला सुनाइएको छ। उनीविरूद्ध गत भदौ १३ गते मुद्दा दायर भएको थियो।

केसीलाई गत साउनमै गृह मन्त्रालयले बर्खास्त गरेको थियो। उनले इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारीसँग रितपूर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैंले लिन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न भन्दै गृहमा सिफारिस गरेको थियो।

यस सम्बन्धमा छानबिन गर्न एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समिति समेत बनेको थियो। उक्त समितिले पनि उनलाई भ्रष्टाचार ऐन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो। उनले बुटवलका सुन व्यापारी किसन बिकको साथबाट ३६ तोला ३२ लाल सुन बरामद गरे पनि सुन वैध वा अवैध के हो भन्नेबारे छानबिनका लागि मुद्दा नचलाई आफैंले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केसीलाई निवासबाटै नियन्त्रणमा लिएको थियो।

सिआइबी टोलीले बिकसँग बरामद गरेको सुन फिर्ता गर्न केसीले लिएको ८ लाख ५० हजार नगद रूपैयाँ र ९ लाख ५० हजार रूपैयाँको चेक समेत केसी निवासबाट बरामद गरेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले केसीलाई निलम्बन गरी अनुसन्धान गरेको थियो।

 

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस