२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोदाममै सड्यो एक लाख किलो चिनी

बुटवल, चैत २० । नवलपरासीमा एक लाख किलो चिनी गोदाममै नष्ट भएको छ। चिनी अभावका कारण बजारमा मूल्य बढिरहेको अवस्थामा नवलपरासीको महेशपुर भन्सार कार्यालयमा एक करोड बराबरको चिनी गोदाममै सडेको हो।

२०७८ साल असारमा पश्चिम नवलपरासी र पूर्वी नवलपरासीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाका विभिन्न भारतीय सीमावर्ती नाकाबाट चिनी बरामद गरेको थियो। प्रहरीले विभिन्न भन्सार नाकाबाट चोरी गरी ट्रक र पिकअपमा राखेर लैजाने क्रममा बरामद गरी लिलामीको लागि भन्सार कार्यालय महेशपुर पठाएको थियो। तर भन्सार कार्यालयले तीन वर्ष पुग्न लाग्दा समेत लिलाम नगरेपछि चिनी गोदाममै सडेको हो।

भन्सार कार्यालयको गोदाममा ५० किलोका दुई हजार बोरामा चिनी छन्। तर गुणस्तर परीक्षण गर्ने निकायले गम्भीरतापूर्वक परीक्षण नगर्दा एक लाख किलो चिनी गोदाममै सडेको छ। जसले सरकारको राजस्व संकलनमा लाखौं रुपैयाँ नोक्सानी समेत भएको छ। भन्सार कार्यालयले बरामद भएको चिनी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चिनी रहेको बोरामा लेबल र सिल उल्लेख नगरिएकोले मापदण्डविपरीत रहेको भन्दै पत्र पठाएपछि लिलाम हुन सकेको थिएन।

भन्सार कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चिनीको नमूना परीक्षण नगरी बोराको मात्र मापदण्ड हेरेर पत्र पठाएपछि चिनी लिलाम हुन नसकेको जनाइएको छ। बजार मूल्यअनुसार उक्त चिनी ९० लाखदेखि झन्डै एक करोड मूल्य रहेको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका प्रमुख बुद्धिबहादुर चुडालका अनुसार समयमै चिनी लिलाम भएको भए सरकारको ५४ लाख बढी रकम राजश्व संकलन हुने थियो। तर गोदाममै सडेपछि ५४ लाख राजस्व घाटा लागेको कार्यालय प्रमुख चुडाल बताउँछन्। उता सडेको चिनी गोदामबाट नहटाउँदा गोदाम नै दुर्गन्धित बनेको छ। गोदामभरी झिंगा भन्किएका छन् भने चिनी पग्लिएर गोदाम नै बिग्रिन थालेको छ। यस्तै, सडेको चिनीले भन्सार कार्यालयमा नै दुर्गन्ध फैलिन थालेको हुँदा प्रक्रिया मिलाएर नष्ट गर्ने उनको भनाइ छ।

 

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस