२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रामहरि श्रेष्ठकी पत्नी रमिला भन्छिन्- माओवादीका प्रधानमन्त्री छन्, छुटाउने डर छ

चितवन । अपहरणपछि हत्या गरेको आफ्नो श्रीमानको हत्याका आरोपित कालीबहादुर खाम पक्राउ परेपछि कारबाही गरेर आफूलाई न्याय दिन रामहरि श्रेष्ठकी श्रीमती रमिलाले माग गरेकी छन् । उनले ढिलै भएपनि आफ्नो श्रीमानको हत्या गर्ने व्यक्ति पक्राउ परेको भन्दै १५ वर्षसम्म बगेको आँसुको मोल न्यायले धोइदिन सरकारसँग अनुरोध गरेकी हुन् ।

‘अहिले ४७ वर्षको भएँ’, उनले रुँदै भनिन्, ‘श्रीमानको हत्यापछि एकल भएर दुई ससाना सन्तान हुर्काउँदा एकदिन मेरो आँखामा आँशु ओभाएन, आज पनि सम्हालिन सक्दिनँ ।’

‘तर, माओवादीकै प्रधानमन्त्री भएकोले दबाबमा छुटाउँछन् भन्ने डर आफूमा रहेको पनि उनले आशंका व्यक्त गरिन् । यसअघि पनि एक पटक समाते रे भन्ने खबर पाएँ, फेरि रातारात छुटाए’, उनले थपिन्, ‘आज पनि समात्यो रे भन्ने खबर पाएको छु, अब नछुटून्, कारबाही भएको खबर पाउँ । मेरो श्रीमान फिर्ता नदिए पनि सरकारले न्याय देओस् ।’

रमिलाले मूलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ‘३’ अनुसार सर्वश्वसहित जन्मकैदको जिल्ला अदालत चितवनमा २०६५ वैशाख २७ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दामा ज्यानसम्बन्धी महलको १७ ‘४’ बमोजिम अपहरणको थप कारबाही समेत माग गरिएको थियो ।

श्रेष्ठ परिवार माओवादी निकट थिए । २०६५ साल वैशाखको १५ गते श्रेष्ठलाई कोटेश्वरस्थित आफ्नै घरमा सुतिराखेको अवस्थामा गोबिन्दबहादुर बटलासहितले अपहरण गरेर तत्कालीन जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरमा ल्याएका थिए । शिविरमा यातना दिएको कारण श्रेष्ठको वैशाख २८ गते राति मृत्यु भएको जनाइएको थियो । यद्यपि, उनको शव मृत्यु भएको भनिएको १३ दिनपछि जुगेडीको त्रिशूली नदी किनारमा भेटिएको थियो ।

हत्यामा संलग्न बटलालाई भने तेस्रो डिभिजन जुटपानीले पत्रसहित २०६५ वैशाखको ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको थियो । बटलालाई जिल्ला अदालत चितवनले २०६५ जेठ २८ गते पूर्पक्षको लागि थुनामा पठाएको थियो । तर, श्रेष्ठ हत्याकाण्डमा मुद्दा परेका कालीबहादुर खाम ‘विविध’, गंगाराम थापा ‘एटम’, केशवबहादुर अधिकारी ‘रघु’ प्रत्यक्ष संलग्न रहेको अभियोग लागेको थियो । उनीहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

खामसहित तीन जना फरार रहेकाले सम्बन्धमा भने सम्पत्ति रोक्का गरिसकिएको जिल्ला अदालत चितवनले मुद्दा मुल्तबीमा राखेको थियो । जिल्ला अदालत चितवनमा मुद्दा चलेर मुल्तबीमा रहेकोले पक्राउ परेका खामलाई चितवन ल्याउने काठमाडौं प्रहरीले जनाइसकेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस