२०८१ असार ५ गते मङ्गलवार | 2024 June 18th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उत्तर कोरियाले ठोस इन्धनले चल्ने ‘हाइपरसोनिक’ मिसाइल परीक्षण गरेपछि अमेरिकामा तरंग

काठमाडौं, चैत २१ । उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटमा मध्यम दूरीको ब्यालेस्टिक मिसाइल (आइआरबिएम) प्रक्षेपण गर्‍यो। सो परीक्षणमा ह्वासोङ्ग-१६ बी नामको आइआरबिएम प्रक्षेपण गरिएको भनेर उत्तर कोरियाली सरकारी मिडियाले बुधबार खुलासा गर्‍यो। साथै सो मिसाइल हाइपरसोनिक (ध्वनिको गतिभन्दा घटीमा पाँच गुणा तेज) भएको र ठोस इन्धनले चल्ने भनेर समेत दाबी गर्‍यो।

लगभग ६०० देखि ३५०० माइल परसम्म प्रहार गर्ने मिसाइललाई मध्यम दूरीको मिसाइल भनिन्छ। उत्तर कोरियाले गत डिसेम्बरमा पनि ठोस इन्धनले चल्ने अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम)—अर्थात् ३५०० माइलभन्दा टाढा प्रहार गर्ने—मिसाइलको परीक्षण गरेको थियो। आणविक हतियार बनाइसकेको उत्तर कोरियाले आइसिबिएममा ती हतियार राखेर पश्चिमी प्रशान्त महासागरमा रहेका अमेरिकी सैन्य अड्डा मात्रै नभएर आफ्नो पश्चिमी किनारमै हान्न सक्छ भनेर अमेरिका सचेत छ।

हाइपरसोनिक मिसाइलको गति मात्रै धेरै हुने होइन, यो मिसाइल प्रक्षेपण गरिसकेपछि यसलाई चलाएर मिसाइल-डिफेन्स सिस्टमलाई छक्याउन सकिन्छ। त्यसमाथि मंगलबार परीक्षण गरिएको मिसाइल ठोस इन्धनले चल्ने भएकाले त्यसले छिमेकी दक्षिण कोरिया, जापान र उनीहरूको सुरक्षाको प्रत्याभूति दिने अमेरिका सबैतिर तरंग ल्याएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकबाट प्रक्षेपण गरिएको सो मिसाइल यसअघि परीक्षण गरिएका आइआरबिएम जस्तो जापानको माथिबाट उडेन। ३७२ माइल उडेपछि दुई देश बीचको पानीमा खस्यो।

ठोस इन्धनले चल्ने मिसाइल किन महत्वपूर्ण हुन्छ?

तरल इन्धनले चल्ने मिसाइल ठोस इन्धनले चल्ने मिसाइलभन्दा शक्तिशाली हुन्छ। तर तरल इन्धनले चल्ने मिसाइल ठोस इन्धनले चल्ने मिसाइल जस्तो भण्डार गरेर राख्न मिल्दैन र प्रक्षेपण गर्नुभन्दा अघि त्यसमा इन्धन भर्नुपर्ने हुन्छ। शत्रु राष्ट्रले आफूमाथि आणविक हतियार प्रहार गर्‍यो भने तरल इन्धनले चल्ने मिसाइलको माध्यमबाट तुरून्त जवाफ दिन सकिन्न। आफूले पहिले प्रहार गर्न पनि भरपर्दो हुँदैन किनभने यो ठोस इन्धनले चल्ने मिसाइलभन्दा ठूलो हुने र इन्धन भरेको देखिने भएकाले शत्रुले स्याटेलाइटबाट निगरानी गर्न सक्छन्।

अमेरिका, रूस र चीनजस्ता महाशक्ति राष्ट्रले जमिन, हावा र समुद्रमा आफ्ना आणविक हतियारहरू राख्छन् र कसैले आफूमाथि आक्रमण गरे तुरून्तै जवाफ दिन सक्छन्। अमेरिका र रूसले हावामा राखेको आणविक हतियार विमानमा र पानीमा पनडुब्बीमा राख्छन्। यी दुई देशको पनडुब्बीको प्रविधि सबभन्दा उच्च छ र आवाज ननिकालिकनै पानीमुनि रहन सक्छन्। अमेरिका र रूसको तुलनामा चीनको पनडुब्बी अलिक आवाज निकाल्ने भएकाले अमेरिकी सेनाले चिनियाँ पनडुब्बी नजिकै आए थाहा पाउन सजिलो हुन्छ।

युक्रेन युद्धमा आफूलाई सहयोग गरेको बदलामा रूसले चीनलाई पनडुब्बीको अत्याधुनिक प्रविधि हस्तान्तरण गर्छ कि भनेर अमेरिका अहिले झस्किएको छ। उत्तर कोरियाका लागि ठोस इन्धनले चल्ने मिसाइलको महत्व अझ बढी छ किनभने उसले हावा र पानीमा आफ्ना आणविक हतियार तयारी अवस्थामा राख्न सक्दैन। त्यसैले जमिनबाट अरूमाथि आक्रमण गर्दा जतिसक्दो छिटो प्रक्षेपण गर्नुपर्ने हुन्छ।

इरान र उत्तर कोरियालाई आणविक हतियार बनाउनबाट रोक्न पहिले रूस र चीनले अमेरिका लगायत पश्चिमा राष्ट्रसँग सहकार्य गर्थे। तर पछिल्ला वर्षमा अमेरिकासँगको चुलिँदो प्रतिस्पर्धाका कारण चीनले अलिक बेवास्ता गर्न थालेको छ। उता युक्रेनमाथि आक्रमण गरेपछि ठूलो मात्रामा हतियार र गोलाबारूद खर्च भइरहेकाले रूस त्यसका लागि इरान र उत्तर कोरियासँग निर्भर नै हुनुपरेको छ।

गत सेप्टेम्बरमा रूस भ्रमणमा गएका उत्तर कोरियाली शासक किम जोङ्ग उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटे। गोलाबारूदका बदलामा अमेरिकी नाकाबन्दी र कम्युनिस्ट शासन व्यवस्थाका कारण जहिल्यै आर्थिक संकटमा रहने उत्तर कोरियालाई रूसले पैसा, तेल र खाद्यान्न मात्रै नभएर आधुनिक हतियारको प्रविधि दिन थालेको अमेरिकाले आशंका गर्छ। चीनलाई दिने खालको अत्याधुनिक प्रविधि नदिए पनि रूसी सहायताले उत्तर कोरियालाई थप शक्तिशाली बनाउने छ।

अमेरिकाको ध्यान रूस-युक्रेन र इसराइल-हमास युद्धमा केन्द्रित भइरहेको बेला उत्तर कोरियाले गरिरहेको शक्तिशाली र आधुनिक हतियारको परीक्षणले छिमेकी दक्षिण कोरिया र जापानलाई थप सशंकित बनाएको छ।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस