२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री आबद्ध सहकारीमा ५५ जनाले गरे साढे ७ करोड बढीको माग दाबी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल र रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी आबद्ध रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाले ५५ जना बचतकर्ताको ७ करोड ५२ लाख ९२ हजार २१७ रुपैयाँ बचत फिर्ता नगरेको पाइएको छ । रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री अर्याल, पूर्वउपाध्यक्ष र रास्वपाका सह–महामन्त्री बुर्लाकोटी सञ्चालक रहेको सहकारीले बचतकर्ताको उक्त रकम फिर्ता नगरेको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । उनीहरु आफ्नो बचत माग्न विभिन्न समय जाँदा समेत पाउँन नसकेको उजुरी बाहिर आएको हो ।

सहकारीका बचतकर्तामध्ये आफ्नो रकम फिर्ता पाउनु पर्ने भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ३४ जनाले ४ करोड ९२ लाख ५३ हजार ८४० रुपैयाँ माग दाबी गरेका छन् । यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा २१ जनाले २ करोड ६० लाख ३८ हजार ३७७ रुपैयाँ माग दाबी गरेका छन् । ऊजुरीहरु दोहोरिएको हुनसक्ने र छुटेको हुनसक्ने भएकाले यो रकम फरक पर्न सक्छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ ।

समितिको कार्यालयले संस्थामा सिल गरेर आवशयक कागजात संकलन गरिरहेको जनाएको छ । अहिलेसम्म सहकारीबाट केही कागजात संकलन भएको, ऋणीको फाइल संकलन गरेको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए । तर, सहकारीले प्रयोग गर्ने सफ्टवेयर भने अझै भेट्न सकिएको छैन । त्यसको पनि खोजी कार्य जारी रहेको छ । मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गरेको पत्र कार्यालयमा पठाएपछि कार्यालयले संस्थाबाट कागजपत्र संकलन गरिसकेको छ । संस्थामा जाँदा कागजपत्र भेटिएको भए पनि सहकारीका सदस्यको तथ्यांक राखेको सफ्टवेयर लुकाइएको छ । कार्यालयका अनुसार सहकारीमा जादाँ सिस्टममा डेटा नभेटिएपछि सफ्टवेयर निर्माता कम्पनीसँग सम्पर्क गरेर डेटा मगाउने तयारी भइरहेको छ । आवश्यक कागजात संकलन भएपछि सहकारीका बचतकर्ताको सम्पत्ति तथा दायित्व भुक्तानी कार्यालयले गर्ने उनको भनाइ छ ।

संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएपछि कार्यालयले सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना जारी गरिसकेको छ । सहकारीले बचतकर्तालाई ठगेको भन्दै उजुरी बढेपछि सहकारी विभागले गत असोज २६ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई थप अनुसन्धानका पत्र पठाएको थियो । त्यसअघि विभागले गत असार ३ गते संस्थाका अध्यक्षसहित ६ जना सञ्चालक समितिका सदस्यलाई विभागमा नै बोलाएर बचतकर्तालाई संस्थाको लगानी रहेको कम्पनीहरुमा रहेको सम्पत्तिबाट अपुग भएमा आफ्नो र परिवारको नाममा रहेको आफ्नो हक लाग्ने चलअचल सम्पत्तिबाट फिर्ता गर्ने प्रतिबद्धता गराएको थियो । पछि बचत फिर्ता नगरी सञ्चालक भागेपछि सीआईबीमा थप अनुसन्धानका लागि पत्र पठाएको थियो । सीआईबीले संस्थागत ठगीमा अनुसन्धान गरिरहेको जनाएको छ । अहिलेसम्म २१ जनाले २ करोड ६० लाख ३८ हजार ३७७ रुपैयाँ माग दाबी गरेका छन् । हाल उक्त सहकारीको अध्यक्षमा गितेन्द्र बहादुर (जिबी) राई, उपाध्यक्ष लिला बहादुर गुरुङ, सचिव ओम प्रकाश गुरुङ, कोषाध्यक्ष नविन अछामी रहेका छन् । यस्तै सञ्चालक सदस्यमा असरफ अली सिद्धकी, दुर्गा चापागाई पाण्डे र रामहरी अधिकारी रहेका छन् । अहिलेसम्म अधिकारीलाई ब्यूरोले पक्राउ गरेको छ भने बाँकीको खोजी कार्य जारी रहेको जनाइएको छ।

२०७९ असोज २२ गते बसेको संस्थाको १०औं साधारणसभाबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । त्यसअघि २०७७ साउन २७ गते संस्थाको नवौं साधारणसभाले सूर्य बहादुर गुरुङको अध्यक्षमा सञ्चालक समिति चयन गरेको थियो । उक्त समितिमा अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक सदस्य थिए ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस