सल्यान । नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी भएका छन् । जिल्लाको १० औं अधिवेशनमा प्रतिद्वन्द्वी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै नेता सेन विजयी भएका हुन् । उनले १ सय ८२ मत ल्याएका थिए भने प्रतिस्पर्धी कुलबहादुर गिरीले १ सय ३९ मत पाएका थिए । यही चैत १८ गतेदेखि सुरु भएको अधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारी चयनमा सहमति हुन नसक्दा बिहीबार बिहान निर्वाचन भएको थियो । निर्वाचनमा ३ सय ३८ मत खसेको थियो ।
निर्वाचन अधिकृत परशुराम ओलीका अनुसार उपाध्यक्षमा भिमबहादुर सेनकै प्यानलबाट १ सय ९३ मत ल्याई ओजबहादुर बुढाथोकी, सचिवमा १ सय ७३ मत ल्याई पुष्पा बोहरा र उपसचिवमा १ सय ८० मत ल्याई गणेशमान सिंह र उपसचिव महिलामा १ सय ७३ मत ल्याई सहनशीलता ओली डीसी विजयी भएका छन् । विजयी भएका सबै सेनका प्यानल रहेका उनले जनाए ।
उपाध्यक्षमा प्रतिद्वन्द्वी दानबहादुर खत्री केसीले १ सय २७, सचिवमा दिपेन्द्र डिसीले १ सय ४३, उपसचिवमा गन्जमान बुढाले १ सय १३, महेश देवकोटाले १४, उपसचिव महिलामा बुद्धकुमारी खत्रीले १ सय ४१ मत ल्याएको निर्वाचन अधिकृत ओलीले जानकारी गराए । अधिवेशनमा जिल्ला कमिटीलगायत अन्य पदमा ५८ जना निर्विरोध निर्वाचित भएका थिए ।