२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाउँपालिका अध्यक्षका छोराले स्थानीय कुटेपछि सुरु भयो हरिनगरा तनाव, प्रहरीले भटाभट हान्यो गोली

इटहरी । सुनसरीको हरिनगरामा भईरहेको झडपको प्रमुख जिम्मेवार हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाका छोरा फैजान अन्सारी रहेको खुलेको छ। उनकै संलग्नतामा बिहीबार हरिनगरा –३ का युवा जीवन मेहतालाई कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ। सो विषयलाई लिएर आज बिहानैदेखि दुई पक्षबीच विवाद चर्कंदै जाँदा झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन कयौं राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ। झडपमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढाले आक्रमण गरेका छन्। झडपमा परेर १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले जानकारी दिए। उनीहरुको बिराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो। दुवै समूहका स्थानीयहरु झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट तनाव सिर्जना भएको हो।

स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले सुनसरीका ५ पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो। साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ। राजमार्गमा लामो दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ। बिहीबारको आक्रमणबाट घाइते भएका हरिनगर गाउँपालिका–३ का जीवन मेहताको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस