२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुप्रिम सहकारीको सवा १४ करोड जीबी र २ करोड गृहमन्त्री रविका नाममा

GB-Rabi cooperative fraud case

३ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम बचत ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको खुल्न आएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको देखिन्छ । गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोरखा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो । गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ ।

बुटवलको सुप्रिम सहकारीको मात्र १४ करोड २९ लाख ३६ हजार रुपैयाँ टीभीमा लगानी भएको प्रहरी अनुसन्धानले देखाएको छ । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार सहकारी ठगीको मुद्दा दायर गरेको छ । जसमा १ हजार ८३१ वचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस