२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जितेका वडामापनि एमालेले लिड गरेपछि कांग्रेस नेताको प्रतिक्रिया, जित्ने चै हामीले नै हो

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा सार्वजनिक भएको मत परिणामअनुसार फाकफोकथुम गाँउपालिकको ७ वटा वडाको मतगणना सकिँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ १ हजार १ सय ५५ मतले अगाडि छन् । ताजा अपडेटअनुसार नेम्वाङ ४४१३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३२५८ मत पाएका छन् । जुन कांग्रेसले गरेको अपेक्षा भन्दा कम मत हो । इलाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने फाकफोक थुम गाउँपालिका काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । सो पालिकाबाट कांग्रेसले लिड गर्ने अपेक्षा गरेको थियो ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा फाकफोकथुम गाउँपालिकाको ७ वडामध्ये ४ वटामा कांग्रेस र बाँकी ३ वटा एमालेले जितेको थियो । पालिकाको अध्यक्ष र उपाध्यक्ष भने एमालेले जितेको थियो । २०७९ को निर्वाचनमा एमालेले यो पालिकाबाट ३२७ मतले अग्रता लिएको थियो । उप निर्वाचनमा भने ७ वटा वडा गन्दा १ हजार एक सय ५५ मतले एमालेले अग्रता लिएको छ । मतगणनाको रुझान चलिरहँदा अपेक्षा गरे भन्दा कम मत आएको कांग्रेसका नेताहरूले प्रतिक्रिया दिएका छन् । इलाम कांग्रेसका सचिव पूर्णप्रसाद गौतमले प्रारम्भिक नतिजा भएकाले कोही उम्मेदवार उत्साही हुन पर्ने र कोही निराश हुनु पर्न अवस्था नरहेको बताएका छन् ।

उनले भने, ‘अहिले नै निराश भइहाल्नु पर्ने अवस्था होइन तर हामीले फाकफोकथुममा यति धेरै मतान्तर होला भन्ने अनुमान भने गरेका थिएनौ ।’ उनले गठबन्धनका कारण पनि यस्तो नतिजा आएको हुन सक्ने बताए । उनले फाकफोकथुममा कम मत आए पनि चुनाव जित्ने दाबी गरे । कांग्रेसका अर्का एक नेताका अनुसार फाकफोक थुमबाट काँग्रेसलाई अत्यन्तै कम मत आएको बताए । उनले भने, ‘मेरो नाम कोट नगर्नु तर यो हामीले सोचे भन्दा एकदमै कम मत हो । उनले यो निर्वाचनमा काँग्रेसले लिड गर्ने अपेक्षा राखेको बताए ।

एमाले इलामका नेता बुद्धि खनालले भने अघिल्लो निर्वाचनमा भन्दा यस पटक फाकफोकथुमबाट एमालेलाई बढी मत आएको बताए । उनले फकाफोकथुमबाट आएको नतिजाले एमाले उत्साहित भएको बताए । उनले यो नतिजासँगै ३ हजार मतले चुनाव जित्ने दाबी गरे । इलामको उप निर्वाचनमा काँग्रेस भित्र आन्तरिक कलह स्पष्ट देखिएको थियो । यसको परिणाम पनि कम मत आएको हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि फाकफोकथुममा अपेक्षा गरे भन्दा कम मत आएको जनाएको छ । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडा रहेका छन् । १ लाख १५ हजार ८८९ मतदाता रहेका थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस