२०८१ जेष्ठ ३ गते बिहिवार | 2024 May 16th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकाएक कसरी मानिस मात्र हैन प्राणीकै लागि सकसपूर्ण बन्यो पोखरा

लेखनाथ । पोखरा विश्वकै प्रदूषित सहर बन्यो । मानिसहरुका लागि उकुसमुकु बनेको छ । बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । मौसमकै कारण आइतबार दिउँसो १ बजेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । त्यसपछि मात्रै विमान आवागमन भएको छ ।

पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । एक सातादेखिको तुवाँलोका कारण शनिबार पोखरा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पूर्वनिर्धारित कार्यक्रम नै रद्द भएको थियो । यो क्रम केही दिनदेखिकै हो । तुवाँलो लाग्न सुरु भएदेखि नै हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ । विमानस्थलका एटिसी प्रमुख योगेन्द्र कुँवरले एक साताभन्दा बढी समयदेखि हवाई सेवा अनियमित भएको बताए । आइतबार १ बजेदेखि भने उडान भइरहेको उनले जानकारी दिए ।

पोखरामा प्रदूषणका कारण आँखा पोल्ने बिरामीको सङ्ख्या बढ्दो छ । शनिबार वायु प्रदूषण इन्डेक्स २०८ एक्वुआईसम्म पुगेकोमा आइतबार १७२ सम्म झरेको छ । एक्युआई १५० सम्म संवेदनशील र दुई सयमाथि अस्वस्थकर मानिन्छ । अहिले पोखरा–१७ मा रहेको हिमालयन आँखा अस्पतालमा आँखाको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या बढेको छ । नेत्र चिकित्सक इन्द्रमान महर्जनले एक हप्तादेखि आँखाको एलर्जी र आँखा पोल्ने समस्या लिएर धेरै बिरामी आइरहेको बताए । “आँखा अस्पताल भएकाले आँखाका बिरामी आउने कुरा स्वाभाविक भयो तर पछिल्लो हप्ता आँखा पोल्ने र एलर्जी समस्या बढेको छ,” उनले भने  ।

बाक्लो तुवाँलोका कारण एक किलोमिटर टाढा नै देख्न कठिन छ । फेवातालमा हिमालको छाया हेर्ने पर्यटक तुवाँलोका कारण निराश छन् । भारतबाट आएका रविकुमारले मौसमका कारण आफ्नो भ्रमण निराशाजनक भएको बताए  । “तीन वर्षअघि आउँदा मनै तानेको थियो, अहिले परिवारसहित आएको, केही हेर्नै पाइएन,” खिन्न स्वरमा उनले भ्रमण फलदायी नभएको सुनाए । परिवारसहित अन्नपूर्ण क्षेत्रको पैदलयात्रामा रहनुभएका वायु प्रदूषणसम्बन्धी विज्ञ डा. लेखेन्द्र त्रिपाठी एबिसी पदयात्रा मार्गमा पनि बाक्लो तुवाँलो रहेको बताउँछन् । “पोखरा यस्तो कहिल्यै देखिनँ । यति प्रदूषित होला भन्ने कल्पना पनि गरेको थिइनँ । एबिसीमा छु, नीलो आकाश, नजिकै झरना र हिमाल देख्न पाएको छैन,” उनले भने ।

लामो समयसम्म वर्षा नहुँदा र देशैभर डढेलो लाग्दा यस्तो समस्या आएको उनको ठम्याइ छ । “प्राकृतिक र मानवीय दुवै कारणले यस्तो भएको हो । तुवाँलो हट्न कि हावाले बगाउनु पर्छ कि पानी पर्नु पर्छ,” उनले भने । यस खालका समस्या बढ्दै गए पर्यटनमा गम्भीर अवस्था आउन सक्ने औँल्याउँदै उनले सरकारले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।

जनचेतना जगाउँदै आगलागी घटाउन ध्यान दिनुपर्नेमा वातावरणविद् डा. सुवास अधिकारी जोड दिए  । “आगो लगाउनेलाई कारबाही गर्ने नीति बनाए, धेरै घटाउन सकिन्छ । अलार्म सिस्टम राख्ने, सानो डढेलो लाग्नेबित्तिकै निभाउन ध्यान दिने, जनचेतना जगाउने गर्नु पर्छ । जीवाश्म इन्धन प्रयोग घटाउनु पर्छ ।”जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका असर देखिन सक्ने बताउँछन् । “आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्छ,” उनी भन्छन् । यस्तो बेला सकभर घरमै बस्ने, बाहिर निस्किनु परेमा मास्क लगाउने, दम, श्वासप्रश्वासका बिरामीले विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस