२०८१ असार ५ गते मङ्गलवार | 2024 June 18th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बेजोड संवाद चलचित्र ‘मनसरा’

काठमाडौँ, जेठ १ गते । साहित्यकार उपेन्द्र सुब्बालाई पहिलो चलचित्र ‘जारी’ ले निर्देशकका रूपमा स्थापित बनायो । अब ‘मनसरा’ ले पनि सुब्बालाई त्यो ‘हाइप’ सम्म पुर्‍याउन कत्तिको सफल हुन्छ त्यो हेर्न बाँकी छ । जारी जस्तै चलचित्र मनसराको सशक्त पक्ष यसको संवाद हो । जारीमा पात्र नामसाङ पोइल गएकी स्वास्नी फिर्ता ल्याउँदा पनि ‘नामर्द’ ठहरिएको थियो भने मनसरामा रिसाएकी स्वास्नी फकाउन नजान्ने र स्वास्नीमाथि सौता हाल्ने ‘नामर्द’ ठहरिएको छ ।

चलचित्रमा गाउँमा मानङ (दयाहाङ राई) बाट धोका पाएर सङ्घर्ष गर्न सहर पसेकी एक सन्तानकी अविवाहित आमा लिम्बुनी (मिरुना मगर), दोस्रो विवाह गर्दा पनि बुवा बन्न नसकेका ददिराम पोखरेल (प्रवीण खतिवडा), ददिरामकी दोस्री श्रीमती नानुमैयाँ श्रेष्ठ (मेनुका प्रधान) र लिम्बुनी प्रेमिकाको खोजीमा भौँतारिएका मानङको कथा हो ‘मनसरा’ । विवाह नहुँदै सन्तान जन्माएर विरक्तिएकी लिम्बुनी र प्रेमिका खोज्न हिँडेका मानङबिच भेट कस्तो समयमा हुन्छ ? सन्तान नभएको झोँकमा पहिलो श्रीमतीलाई कुटेर घरबाट निकालेर दोस्रो विवाह गर्दा पनि बुवा बन्न नसकेका ददिरामले तेस्रो विवाह गर्छन् या दोस्रो श्रीमतीबाटै बाबु बन्न सफल हुन्छन् ? कि लिम्बुनीलाई तेस्री श्रीमती बनाएर सन्तानको बुवा बन्छन् ? मनसरा यिनै कुरामा अल्झिएको छ ।

पछिल्लो समय समाजमा देखिएका बाँझोपन, पारिवारिक विखण्डनले निम्त्याइएको एकल महिलाको सङ्घर्ष, अन्तरजातीय विवाहपछि हुने पारिवारिक मतभेद जस्ता कुरालाई चलचित्रमा सरल ढङ्गबाट पस्कन खोजिएको छ । चलचित्रको कथा हाम्रो समाजको हो । आमनेपालीले भोगिरहेको र देखिरहेको विषय चलचित्रमा उठान गरिएको छ । त्यसैले पनि कथा नौलो होइन तर यसको संवाद शैलीले दर्शकको मन लोभ्याउँछ । चलचित्रको अर्को राम्रो पक्ष भनेको यसको सङ्गीत हो । साथै यसभित्र समावेश पालम जसले दर्शकको मन लोभ्याउँछ ।

प्रवीण खतिवडाको अब्बल अभिनयका अगाडि अन्य पात्रको अभिनयमा खासै दर्शकको ध्यान खिचिन्न । दयाहाङ राई चलचित्रमा छन्, छैनन् दर्शकलाई पत्तै हुँदैन । यस पटक दयाहाङले भन्दा अभिनयमा प्रवीणले दर्शकको ध्यान खिच्छन् । नायिका मिरुना मगरलाई झनै सुन्दर देखाइएको छ । उनको संवाद बोल्ने शैलीले दर्शकको मन लोभ्याउँछ । चलचित्रको पूरै कथा उनी वरपर घुमेको छ । नायिका मेनुका प्रधानले अभिनयमा आफूलाई खरो उतारेकी छन् भने बालकलाकार नेनाहाङ राईको अभिनय तारिफयोग्य छ । छोटो भूमिकामा भए पनि कवि विप्लप प्रतीक र गायक/अभिनेता सत्यराज आचार्यलाई पनि दर्शकले सम्झन्छन् ।

लेखक सुब्बाको बलियो पक्ष भनेको उनी गाउँघरका स्थानीयवासीले बोल्ने संवादलार्ई चलचित्रको कथामा दुरुस्तै पस्कन जान्दछन् । चलचित्रमा पात्र कम लेखकको संवाद धेरै प्रयोग भएका छन् । निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढङ्गले कोरेका छन् । चलचित्रको कथामा मौलिकता छ । चलचित्रमा अनावश्यक मसलाको प्रयोग गरिएको छैन जुन निर्देशकको राम्रो पक्ष हो । चलचित्र विशुद्ध ‘अर्गानिक’ बनेको छ । चलचित्रमा हिरो, भिलेन, एक्सन, गानालाई कम प्राथमिकतामा राखिएको छ ।

चलचित्रका केही दृश्य लामा छन् । जसलाई निर्देशकले छोट्याउन सक्थे तर आवश्यक ठानेनन् । लिम्बुनीको पसलमा केही युवा समूहले लिम्बू संस्कृति र संस्कारमा गाएको पालमदेखि लिएर उनीहरूको संवादलाई छोट्याइएको भए चलचित्रको सौन्दर्य झनै बढ्थ्यो कि ?

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस