२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गौशाला २६ निवेदन लिएर आयोग पुगिन् : सबैलाई सोध्छिन् ‘न्यायको लागि आवाज उठाउनु अपराध हो ?’

४ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ ले मानवअधिकार आयोगमा निवेदन दिएकी छन् । अन्यायविरुद्ध आवाज उठाउँदा आफूलाई नै लाञ्छित गरिएको भन्दै उनले मानव अधिकारको रक्षा गरिपाउँ भन्दै आयोगमा निवेदन दिएकी हुन् । न्यायका लागि आवाज उठाउँदा उल्टै लाञ्छना गर्ने, तुच्छ, हेय र अमानवीय किसिमका प्रचारप्रसार गरिएको भन्दै उनले आफ्नो मानवअधिकार र न्याय पाउने हकको रक्षा गरिदिन निवेदनमार्फत अनुरोध गरेकी छन् ।

‘के न्यायको लागि आवाज उठाउनु अपराध हो र ?’, निवेदनको विवरणमा उनले भनेकी छन्, ‘यसरी पाखुरा, पैसा र पहुँच भएकाले मात्र न्याय पाउने र आवाज उठाउनेको धतुरो झार्ने, बाँच्नै दुष्कर गराउने हो भने भोलिका दिनमा कुनै पनि महिला, बालिकाले आफूमाथि भएको अत्याचार, बलात्कार र अपराधको विरुद्ध आवाज उठाउने हिम्मत गर्ने छैनन् ।’

जिल्ला अदालत, काठमाडौंले ८ वर्ष कैद सजाय तोकेकामा उच्च अदालत, पाटनले बुधबार लामिछानेलाई सफाइ दिएको थियो । त्यसपछि सामाजिक सञ्जाल, कतिपय सञ्चारमाध्यम, युट्युब लगायतमा आफ्नो चरित्रसँग जोडेर गम्भीर विषयहरू प्रचार भएको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएकी छन् । ‘यसले मेरो मात्र अस्मिता, सम्मान र संरक्षणमा आँच पुर्‍याएको नभइ सम्पूर्ण महिला दिदी, बहिनी र बालिकाहरुकै अस्तित्वमा ठूलो आघात पुर्‍याएको छ’, निवेदनमा भनिएको छ, ‘मानव अधिकार आयोग मानवताको रक्षा गर्न बनेको आयोग भएकाले म पीडित आफ्नो र सबै महिला तथा बालिकाहरूको जो बोल्न सक्नु भएको छैन, उहाँको तर्फबाट पनि न्याय र मानवअधिकारको संरक्षण होस् र त्यस्तो असत्य सामाचार प्रचारप्रसार गर्नेहरुलाई कानून बमोजिम सजायका लागि सिफारिस गरिपाउँ ।’

उनले त्यसरी आफ्नो चरित्र हत्या हुने गरी सम्प्रेषित भिडियोहरूको लिंकसमेत उपलब्ध गराएकी छन् । केही युट्यबु च्यानलमा उनी देखिने सीसी टीभी फुटेज समेत सम्प्रेषित भएका थिए । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले भने आफूहरू पीडितले उठाएको विषयप्रति संवेदनशील रहेको बताइन् । ‘नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतका संघसंस्थालाई बोलाएर छलफल पनि गरेका छौं’, उनले भनिन्, ‘त्यसमा के गर्नुपर्ने हो आयोगले गर्छ ।’

उच्च अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन । नेपाल क्रिकेट संघ (क्यान) ले भने लामिछानेको निलम्बन फुकुवा गरिसकेको छ । आसन्न टी–२० विश्वकपमा उनलाई सहभागी गराउने गरी क्यानले तयारी गरिरहेको छ । तर उच्च सरकारी वकिलको कार्यालयले भने पूर्णपाठ आएलगत्तै सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिने तयारी गरेको छ । उच्च सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता शंकर खत्रीले पूर्णपाठ आएपछि अध्ययन गरेर पुनरावेदनमा जानेबारे निर्णय हुने बताएका छन् ।’

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस