२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ट्राफिक प्रहरीको हत्यामा संलग्नलाई ७ सार्वजनिक, कारण सडकमै बास बसाउने युवा–युवतीको संगत

६ जेठ, काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो ।

जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर रजौरेले भने, ‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं ।’

उनका अनुसार पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो ।

बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङको दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका – १ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

प्रहरीका अनुसार घटना भएको दिन ड्युटी सकेर घर जाने क्रममा घिमिरेले अञ्जली श्रेष्ठ र सचिन परियारलाई खाजा घरमा भेट्छन् । उनीहरुको पुरानै चिनजान समेत देखिन्छ । उनीहरुसँगै खाजा खान्छन् । त्यही क्रममा युवराज घिमिरेले अञ्जली श्रेष्ठलाई आँखा झिम्क्याउने, इसारा गर्ने गर्छन् । प्रहरीका अनुसार त्यसपछि केही विवाद हुन्छ । अनि अञ्जली बिरामी भएको नाटक गरेर सोही अखडासम्म पुर्याउन अञ्जली र सचिनले युवराजलाई आग्रह गर्छन् ।

त्यसपछि युवराजले आफ्नो बाइमा दुई जना चढाएर तीन जना नै हत्या भएको ठाउँमा पुग्छन् । त्यसपछि त्यहाँ बसौं भनेर उनीहरु युवराजलाई बसाल्छन् । त्यसपछि तत्कालै ढुंगा, इटा, रड र उनको पोसाकमा लगाएको बेल्ट प्रयोग गरेर हत्या हुन्छ । आरोपितहरु अधिकांश सडकमा नै बास भएकाहरु हुन् । उनीहरुको दैनिकी नै लागूऔषध सेवन गर्ने माग्ने, चार्ने लुट्ने र सडकमा नै बस्ने हो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस