२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिहेपछि अष्ट्रेलिया पलायन भइन् एलिना चौहान

Alina Chouhan migrated to Australia after marriage

काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिकामध्ये पर्छिन् एलिना चौहान । कुनै पनि कोणबाट ‘टप फाइभ’ गायिकाको सूची बनाउनुपर्‍यो भने उनलाई छुटाउन गाह्रो हुन्छ । केही समयदेखि करिअरको पिकमा रहेकी यी गायिकाले भर्खरै बिहे गरिन् । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग उनले एक महिना अगाडि लगनगाँठो कसेकी हुन् । बिहेपछि उनको सांगीतिक करिअरमा नयाँ मोड आएको छ । एलिना श्रीमानसँगै अष्ट्रेलिया पलायन भएकी छन् ।

केही दिनअगाडि एलिना सांगीतिक कार्यक्रमका लागि श्रीमानलाई समेत साथ लिएर दुबई गएकी थिइन् । त्यहाँ उनीहरूले घुमघाम र मस्ती गरे । दुबइबाट उनीहरू नेपाल नफर्कीकन सिधै अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा एलिना आफ्नो सांगीतिक करिअरभन्दा श्रीमानको व्यापार–व्यवसायमा बढी व्यस्त रहनेछिन् ।

विष्णुले अष्ट्रेलियामा मायालु फर्निचरका नाममा शोरुम चलाएका छन् । मायालु फर्निचरको टिकटक पेजमा हालै एउटा भिडिओ अपलोड गरिएको छ । भिडियोमा विष्णुले एलिनासँग बसेर आफ्नो शोरुमको विज्ञापन गरिरहेको देख्न सकिन्छ । एलिनाका श्रीमान् विष्णुले बिहेलगत्तै केही मिडियालाई अन्तरवार्ता लिएर श्रीमतीलाई अष्ट्रेलियामा आफूसँगै राख्ने बताएका थिए ।

उनले भनेका छन्, ‘हामी सँगै बस्छौँ । उता (अष्ट्रेलियामा) पनि नेपालीहरूले खोलेको स्टुडियो छ । त्यसमै एलिनाको गीत रेकर्ड हुन्छ र युट्युबमा अपलोड गरिन्छ । उनले मेरो व्यवसायमा समेत सहयोग गर्छिन् । नेपालमा दशैं तिहारका बेलामा मेला महोत्सवको सिजन हुन्छ । त्यो समयमा उता मेरो व्यवसायको अफसिजन हुन्छ । त्यसैले दशैं-तिहारको बेला नेपालमा आएर मेला महोत्सवमा पनि गाउँछिन् । उनको सांगीतक करिअर रोकिँदैन ।’

एलिना स्वयम्ले भने अष्ट्रेलिया पलायन हुने सन्दर्भमा खुलेर बोलेकी छैनन् । यद्यपि, उनले आफू नेपाल र अष्ट्रेलिया दुवैतिर बस्ने प्रतिक्रिया दिएकी थिइन् । तर, अष्ट्रेलिया पलायन भइसकेपछि एलिनाको अहिलेको सांगीतिक रफ्तार कायम राख्न भने सम्भव हुने छैन । यदि निर्णय परिवर्तन गरिनन् भने एलिनाको करिअर सुस्ताउने र नेपाली संगीतबजारबाट उनी हराउन सक्ने खतरा संगीतकर्मीहरुले औँल्याएका छन् ।

उनीसँग निकट एक संगीतकार भन्छन्, ‘नेपालमा यस्तो जल्दोबल्दो करिअर छोडेर अष्ट्रेलिया भासिने निर्णय लिनुले अचम्मित छु । अष्ट्रेलियामा बसेर नेपालमा हिट भइराख्न सम्भव हुने कुरा होइन । थुप्रै कलाकारहरू विदेश भासिएपछि गुमनाम बनेको हामीले देखेकै छौँ । यसै पनि संगीत क्षेत्रमा चर्को प्रतिस्पर्धा छ । उहाँ उपलब्ध नहुँदा विकल्पको कमी छैन । उहाँले नेपालमै बसेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदा राम्रो हुन्छ ।’

मौलिक आवाजकी धनी एलिना सुन्दर र ग्ल्यामरस गायिकाको रूपमा पनि चिनिन्छन् । गसिपहरुमा छाइराख्ने भए पनि अहिलेसम्म कुनै पनि गम्भीर विवादमा मुछिएकी छैनन् । दर्शक/स्रोतामाझ बेग्लै छाप छोड्न सफल उनको देश तथा विदेशका स्टेज शोमा निकै राम्रो डिमान्ड छ । महिनै पिच्छेजस्तो विदेश उडिरहन्थिन् ।

गीत गाएरै एलिनाले मनग्गे आर्जन गरिरहेकी थिइन् । उनी एउटा गीत रेकर्ड गराएको १५ हजार रुपैयाँ लिन्छिन् । यस्तै मेला-महोत्सवमा गाउँदा उनलाई ५० हजारदेखि ७० हजारसम्म दिन आयोजक हिच्किचाउँदैनन् । एकपटक विदेश भ्रमण गर्दा डेढ लाख रुपैयाँसम्म हात पर्छ । समग्रमा अहिले सबैभन्दा धेरै कमाउने गायिकाकै सूचीमा पर्छिन् उनी । तर, समय सधैँ उस्तै हुँदैन ।

बिहेपछि एलिनाको सबै डिल विष्णुले गर्न थालेका छन् । एक अन्तरवार्तामा एलिनाले बताए अनुसार उनलाई गीत गाउन बोलाउन अब श्रीमानसँग कुरा गरेर सबै कुरा फिक्स्ड गर्नुपर्छ । सामाजिक सञ्जालमा कतिले यसलाई लिएर ‘विष्णु माझी’ सँग पनि तुलना गर्न थालेका छन् । यद्यपि, यो उनीहरूको आपसी समझदारीको कुरा हो । मुख्य कुरा चाहिँ एलिनाका फ्यान र शुभचिन्तकहरु उनलाई विदेश पलायन भएको हेर्न चाहँदैनन् । उनीजत्तिको कलाकार पनि विदेश भासिने हो भने नेपालमा को बस्ने भन्ने प्रश्न पनि उठ्छ नि, होइन र ?

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस