२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहियाकै जस्तो नागरिकतामा कैफियत भएका सेनाका जर्नेल पनि गृह मन्त्रालयको छानबिनमा

काठमाडौं । गलत विवरण राखेर नागरिकता लिएको आरोपमा कान्तिपुर दैनिकका मालिक कैलाश प्रसाद सिरोहिया यतिबेला प्रहरी हिरासतमा छन् । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा सिरोहियामाथि छानबिन भइरहेको छ । उनै लामिछानेको मन्त्रालयले नागरिकताकै कैफियतमा नेपाली सेनाका एक उच्च अधिकारीमाथि समेत छानबिन गरिरहेको छ । रथी अशोकराज सिग्देल जन्म मिति कीर्ते गरेर नागरिकता बनाएको उजुरीमा पनि मन्त्रालयले छानबिन गरिरहेको छ । तर, छानबिनलाई प्रभावित पार्ने प्रयास भइरहेको छ ।

सिग्देलमाथि उच्चस्तरीय न्यायिक समितिमार्फत छानबिन गर्न माग गर्दै विभिन्न निकायमा उजुरी परेका छन् । त्यसमध्ये गृह मन्त्रालयले आफ्नो क्षेत्राधिकार भएको भन्दै छानबिन थालेको हो । सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाएका थिए । विभिन्न सरकारी कागजपत्रले सो कुराको पुष्टि भइसकेका छन् । रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेर नागरिकताको प्रतिलिपि बनाएका थिए । त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो ।

जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका थिए । रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै गलत नियत देखिन्छ । सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिन्छ ।

सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ । जसअनुसार उनले यसअघि नै अवकाश पाउनेमा चलखेल गरी छानबिन रोकाएका थिए । यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए । सिग्देलमाथि अनुसन्धान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निवेदन दिइएको छ । तर, छानबिन गर्ने मुख्य निकाय गृह भएकाले मन्त्री लामिछानेले यो प्रकरणलाई कसरी टुंग्याउँछन् चासोको विषय बनेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस