२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गामा छन् ४ सय घर, दर्जनौं ठूला होटल र कलेज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको दाबी गरे । त्यसपछि नेपाली कांग्रेस आक्रोशित भएको छ ।

गिरीबन्धु टि–स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ। ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ। बेचिएको भनिएको जग्गामा अहिले ठूलो मानवीय बसोवास भएको बस्ति, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय बनिसकेका छन् ।

११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिव ४ सय घर परिवार बसोवास गरिरहेका छन्। बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ विघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ।

प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन्। त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन्। झापाको गिरीबन्धु टि–स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ । अब यी बस्ती सरकारले के गर्छ ? निक्कै पेचिलो बनेको छ ।

अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोवास गर्नेहरूमा अन्योल छाएको छ। यता गिरीबन्धु टि–स्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सदन र सडकमा आमने सामने हुने निश्चित छ। वास्तविकता के हो ? विस्तारै खुल्दै जाला। अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टि–स्टेटको जग्गाको विषयले नेपालको राजनीति तात्ने निश्चित छ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस