२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बागमतीका मेयर भरतकुमार थापाविरुद्ध ३० करोड भ्रष्टाचारको अर्को मुद्दा

२९जेठ , काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

सर्लाहीको भरत ताल निर्माणमा ३० करोड २९ लाख रकम हिनामिना गरेको आरोपमा बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, नगर प्रमुख भरतकुमार थापासहित ६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । यसअघि २८ चैतमा अख्तियारले पाँच करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ । अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस