२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

थामे खोलाको बाढी प्रभावित स्थानीयलाई एमालेले ३० लाख बराबरको सहयोग गर्ने

काठमाडौं । सोलुखुम्बुको थामे खोलाको बाढी प्रभावित स्थानीयलाई नेकपा एमालेले सहयोग गर्ने भएको छ । सोलुको खुम्बु पासाङ गाउँपालिका–५ थामेमा गत साउन ३२ गते थामे खोलामा आएको बाढीले क्षति पुर्‍याएका परिवारलाई नेकपा एमालेको सामाजिक सेवा केन्द्रले ३० लाख रुपैँया बराबरको आर्थिक सामाग्री सहयोग गर्न लागेको हो ।

बाढी प्रभावित परिवारलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले जानकारी दिनुभयो । कोभिडको बेलामा स्थापना भएको सामाजिक सेवा केन्द्र मार्फत बाढी पीडितलाई सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । नागरिकलाई समस्या परेको बेला नेकपा एमाले साथमा नै छ भन्ने विश्वास दिलाउन सो सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । नागरिकको हरेक सुख–दुःखमा एमाले साथमा रहने भन्दै पार्टीले सकेको सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

थामे खोलाको सिरमा रहेका दुईवटा हिमपोखरी फुटेर बाढी आउँदा थामे गाउँका १५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण थप १० घर जोखिममा छन् । गाउँको एउटा विद्यालय तथा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ । गाउँमा विद्युत् आपूर्ति गर्ने सामुदायिक जलविद्युत आयोजनामा समेत बाढीले क्षति पुर्‍याएपछि सो क्षेत्रमा विद्युत् सेवा समेत अवरुद्ध छ । विद्युत् बन्दभएसँगै अवरुद्ध भएको टेलिफोन सेवा भने वैकल्पिक व्यवस्था गरेर आजबाट सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस