२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

रास्वपाका कारण न्युयोर्कमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित

७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदायले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार पारिसकिएको थियो ।

तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

महावाणिज्य दूतावासले यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट दुःख व्यक्तसमेत गरेको छ । न्यूयोर्कमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी संघ संगठनहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि कार्यक्रम स्थगित गरिएको स्रोतको दाबी छ । उनीहरुले कार्यक्रममा सहभागी भएर कालो झण्डा देखाउन सामाजिक सञ्जालमार्फत् आह्वान गरेका थिए । त्यसपछि स्थानीय सुरक्षाकर्मीहरुले भीभीआईपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कार्यक्रम स्थगित गर्न सुझाव दिएको थियो । सोही सुझावको आधारमा कार्यक्रम स्थगित गरिएको स्रोतले बतायो ।

 

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस