२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

निकिता र डिपीको जिम्मामा प्रहरीले छोड्यो रवि लामिछाने, बाँकी मुद्दा यसरी अघि बढ्ने

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर थुनामुक्त भएका हुन्। कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका छन्।

उनी काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका छन्। कास्की प्रहरी स्रोतले धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं लगिने भनिएतापनि अदालतले आफैं उपस्थित हुन सुविधा दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा छ।

रविलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो। बिहीबार कास्की जिल्ला अदालतले सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रूपैयाँ धरौटी माग गरिएको थियो।
लामिछाने र जोशीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको आरोप समेत छ। उक्त सहकारीमा प्रतिवादी रहेका दुई जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ।

लामिछानेको काठमाडौंमा थुनछेक बहस सकिएपछि अन्य जिल्ला अदालत रूपन्देही, चितवन र पर्सामा पनि आफैं उपस्थित हुनुपर्नेछ। कमल सुवेदीसँग तीन लाख र सुनिता नेवासँग चार लाख रूपैयाँ धरौटी माग गरेको थियो।

 

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस