काठमाडौं । हमासले रेडक्रसका अधिकारीहरूमार्फत तीन जना इजरायली बन्धकलाई इजरायली रक्षा बल (आईडीएफ) लाई सुम्पेको छ। यी बन्धकलाई इजरायलमा लगेर स्वास्थ्य परीक्षणको लागि प्रारम्भिक मूल्याङ्कन गरिने इजरायली सेनाले जनाएको छ।
इजरायली सेनाको वक्तव्यमा भनिएको छ, “तीन जना बन्धकहरूलाई विशेष आईडीएफ इकाई र शिन बेट सुरक्षा बलले इजरायल फर्काउँदैछन्, जहाँ उनीहरूको प्रारम्भिक चिकित्सा परीक्षण हुनेछ। आईडीएफ कमाण्डर र सैनिकहरूले इजरायलमा फिर्ता भएका बन्धकलाई स्वागत र अँगालो हालेर सम्मान व्यक्त गरेका छन्।”
रिहाइ प्रक्रिया हमासका एक अधिकारीका अनुसार, तीन महिला बन्धकलाई गाजाको अल-रिमाल छिमेकको अल-सराया स्क्वायरमा रेडक्रस टोलीलाई सुम्पिएको हो। अधिकारीले बताए, “यो प्रक्रिया रेडक्रस टोलीले ती महिलाको स्वास्थ्य सुनिश्चित गरेपछि भएको हो।”
रिहा गरिएका महिलामा २४ वर्षीया रोमी गोनेन, २८ वर्षीया एमिली डमारी, र ३१ वर्षीया डोरोन स्टेनब्रेचर रहेका छन्।
सम्झौता र बन्धक आदानप्रदान यो रिहाइ युद्धविराम सम्झौताको हिस्साअन्तर्गत भएको हो। यस सम्झौतामा इजरायलले यी तीन महिला बन्धकको बदलामा ९० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति गरेको छ। यो कदम हमास र इजरायलबीच भइरहेको द्वन्द्वलाई केही कम गर्ने प्रयासको रूपमा हेरिएको छ। रिहाइपछि दुवै पक्षले आफ्नो अडान र क्रियाकलापलाई ध्यानमा राखेर अर्को चरणको कदम चाल्न सक्ने अनुमान गरिएको छ।

