काठमाडौं । भारतको कुम्भ मेलाबाट फर्कने क्रममा बिहारी राज्यको मुजफ्फरपुर जिल्लामा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ। दुर्घटना महाकुम्भ मेलाबाट फर्किरहेका नेपाली तीर्थयात्रीहरूको स्कार्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा भएको हो।
दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। मृतकमध्ये श्रीमान, श्रीमती, मामा, माइजु र गाडी चालक रहेका छन्। घटनास्थलमा तत्कालै पाँचजनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
भारतको प्रभात खवर दैनिकका पत्रकार विजय नारायण मिश्रका अनुसार, तीव्र गतिमा रहेको स्कार्पियो गाडीले अर्को दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो। गाडी अनियन्त्रित भएर मादापुर फोरलाइन सडक खण्डमा दुर्घटनामा परेको थियो। दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका-२ कट्टीका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र गाडी चालक सिरहा जिल्लाका नाम थर नखुलेका शम्भु ठाकुरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामा मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार, गाडीको एयरब्याग नखुलेका कारण दुर्घटनामा बढी क्षति भएको बताइएको छ।
सडकमा स्टन्ट गरिरहेका युवाहरुलाई जोगाउनका लागि गाडी चालकले सवारीलाई अनियन्त्रित गरेको थियो, जसका कारण गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको थियो।

