काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने सहकारी ठगी प्रकरणमा २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। लामिछाने चितवन, रुपन्देही, काठमाडौँ र कास्की जिल्ला अदालतमा उक्त रकम धरौटी बुझाएर रिहा भएका हुन्।
लामिछानेले चितवन अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाडौँमा ६० लाख र कास्कीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। कास्कीमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ भने अन्य स्थानमा सहकारी ठगी र संगठित अपराधको मुद्दा चलिरहेको छ। रिहा हुने क्रममा उनले अदालतमा बैंक ग्यारेन्टी पनि प्रस्तुत गरेका छन्।
राहतको समयमा लामिछानेको सम्पत्ति विवरणमा भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा र नगद १ लाख १० हजार रुपैयाँ देखाइएको छ। जबकि उनकी श्रीमती निकिता पौडेलको नाममा धेरै चल अचल सम्पत्ति रहेको छ। निकिताले ४२ लाखमा टाटा नेक्सन इभी कार, ८ लाख ७५ हजार कित्ता गोपीकृष्ण मुभिज प्रालिमा शेयर, विभिन्न बैंकहरूमा मौज्दात र १ करोडको सम्पत्ति रहेको देखाइएको छ।


