२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

ट्रम्पको कदमले अमेरिकामा नेपाली विद्यार्थीको दयनीय स्थिति, तीन हजारलाई खाद्यान्न सहयोग

अमेरिकाको टेक्सस राज्यमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग प्रदान गर्न पहल गरिएको छ।

टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समाजका अभियानकर्मीहरूले “समुदाय कार्यक्रम” नामक अभियान सुरु गरेका छन्, जसअन्तर्गत करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन भइरहेको छ।

नेपाली समाज टेक्ससका महासचिव विजय भुसालका अनुसार, कामविहीन विद्यार्थीलाई एक महिनासम्मका लागि आवश्यक खाद्यान्न जस्तै चामल, दाल, तेल, नुन, चना लगायतका सामग्री उपलब्ध गराइने छ। हालसम्म ७०० भन्दा बढी विद्यार्थीले खाद्यान्न प्राप्त गरेका छन्। सवारी साधन भएका विद्यार्थीहरूले नेपाली सांस्कृतिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्न सक्नेछन्, र सवारी साधन नभएका विद्यार्थीलाई घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरकानुनी आप्रवासी निष्कासन योजनाले नेपाली विद्यार्थीमा प्रत्यक्ष असर पारेको छ। गैरकानुनी आप्रवासीको खोजीमा प्रहरी छापा मारिरहेको छ, जसका कारण कानुनी रूपमा बसोबास गर्ने र वर्क पर्मिट भएका विद्यार्थीहरू पनि असरमा परेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस