काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन उडाउने क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपचार कीर्तिपुर अस्पतालमा उच्च निगरानीमा गरिनुपर्ने भएको छ।
अस्पतालले जानकारी दिँदै प्रारम्भिक मूल्याङ्कनमा ५-६ प्रतिशत अनुहार जल्न गएको र श्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेको बताएको छ। चिकित्सकहरूका अनुसार, यी घाइते व्यक्तिहरूलाई विशेष निगरानीमा राखेर उपचार गर्न आवश्यक छ।
कीर्तिपुर अस्पतालका निर्देशक किरण किशोर नकर्मीले विज्ञप्ति जारी गर्दै भनेका छन्, “जलनको असर गम्भीर हुनसक्ने र श्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानी आवश्यक छ।”
घटनापछि, पोखरामा प्रारम्भिक उपचारपछि मन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार

