ओडिशाका मुख्यमन्त्री मोहन मोहन करानले कालीङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) क्याम्पसमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटनाप्रति गम्भीर ध्यान दिएको बताएका छन्। उनले मृतकका परिवारलाई न्याय दिलाउन तथा क्याम्पसमा शान्ति पुनःस्थापना गर्न राज्य सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
मुख्यमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री करानले विश्वविद्यालय प्रशासन, प्रहरी अधिकारी र सम्बन्धित निकायहरूसँग छलफल गरी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्। मृतक विद्यार्थीका परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी राखिने छैन।”
आइतबार ओडिशास्थित केआइआइटी क्याम्पसमा अध्ययनरत तेस्रो वर्षका नेपाली विद्यार्थी लम्साल होस्टलमा मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनालाई आत्महत्या भनेर व्याख्या गरिएको भए पनि मृतकका सहपाठी तथा नेपाली विद्यार्थीहरूले घटनाप्रति गम्भीर शंका व्यक्त गरेका छन्।
घटनापछि क्याम्पसमा नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै क्याम्पसमा नाराबाजी गरेका थिए। नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयलाई लिएर पनि प्रश्न उठाइएको छ।
विरोधका कारण उत्पन्न तनावपूर्ण अवस्थालाई सम्बोधन गर्दै मुख्यमन्त्री करानले केआइआइटी क्याम्पसमा शान्ति पुनः स्थापना गर्न आवश्यक पहल भइरहेको बताएका छन्। उनले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन र आफ्नो अध्ययन पुनः सुरु गर्न आग्रह गरेका छन्।
“विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। घटनाको छानबिन गर्दा पारदर्शिता कायम राख्नेछौं। क्याम्पसमा कुनै अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सबै कदम चाल्नेछ,” विज्ञप्तिमा उल्लेख छ। मृतक लम्सालको शव नेपाल ल्याइ सकिएको छ।

