काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका युवकको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। करिब ३५ वर्षीय युवक बिहीबार फोहोर फाल्ने ठाउँमा मृत भेटिएका हुन्।
मृतकको पहिचान खुलेको छैन, तर उनको हातमा ‘सुशन शाक्य’ नामको ट्याटु छ। सिसिटिभी फुटेजमा दुई किशोरले बाँसको भाटाले हानेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा १६ र १७ वर्षीय दुई किशोर पक्राउ परेका छन्। उनीहरूले सुरुवाती विवादपछि बाँसको भाटाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन्।
मृतक यसअघि तीनपटक प्रहरी अनुसन्धानमा परेका व्यक्ति हुन्। मृतक र आरोपीहरू दुवै सडकमा बस्दै आएका थिए। हत्यामा संलग्न किशोरहरू वसन्तपुर क्षेत्रबाट पक्राउ परेका हुन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार

