काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै, सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद्ले एउटै प्रकृतिका संरचना गाभ्ने वा खारेज गर्नेबारे सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५८ औँ बैठकका लागि जेनेभा भ्रमण स्वीकृत भएको छ। साथै, औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन विधेयक संसद्मा पेस गर्ने निर्णय भएको छ।
नेपाल प्रहरीका एआईजी रवीन्द्र केसीको राजीनामा स्वीकृत गरिएको छ। सरकारले सरकारी जग्गा विभिन्न सार्वजनिक संरचना निर्माणका लागि स्थानीय तहलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
साथै, नेपाल-ओमान पर्यटन समझदारी, नेपाल-अमेरिका पुरातात्विक सामग्री सम्झौता तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनी र फ्रान्समा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ।



