२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

रातापानी हत्याकाण्ड : पङ्कजको झस्काउने बयान

काठमाडौं । माण्डवी गाउँपालिका–२, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या गरेको आरोपमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका–काकीको हत्या गरेको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी दीपेश बस्यालको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान गरेको हो। पङ्कजले रिसको झोँकमा घन प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। उनले “सधैँ गाली गर्थे, हेप्थे, सहन सकिनँ” भन्दै हत्याको कारण खुलाए।
एक हप्ताअघि रामबहादुरले ‘स्वास्नी पाउन नसकेको थारो’ भनी गाली गरेपछि पङ्कजमा आक्रोश बढेको थियो। शनिवार राति रक्सी खाएर घरको दोस्रो तलाबाट प्रवेश गरी सुतिरहेका दम्पतीको टाउकोमा घनले तीन–तीन पटक प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल नजिकैबाट रगतले लतपतिएको घन र मृतकको रगत पुछेको व्लाङ्केट बरामद गरेको छ। डिएसपी बस्यालका अनुसार हत्याको सूचना दिने पहिलो व्यक्ति पङ्कज नै थिए, जसले शङ्कास्पद घटनाको जानकारी प्रहरीलाई दिएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस