काठमाडौं । रूसले कब्जा गरेका युक्रेनी क्षेत्रमा करिब ३ खर्ब ५० अर्ब डलर बराबरको महत्वपूर्ण स्रोत रहेको युक्रेनी अधिकारीले आइतबार बताएका छन्। उपप्रधानमन्त्री युलिया स्विरिडेन्काले किएभमा पत्रकार सम्मेलनमा भनेकी छन्, ‘अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रमा यी उपयोगी सामग्री छन्, जुन भूगर्भीय सर्वेक्षण र खुला तथ्यांकमा आधारित अनुमान हो, यद्यपि केही तथ्यांक पुरानो छ।’ यो स्रोत अधिकांश औद्योगिक डोनबास क्षेत्रमा छ, जहाँ रूसले कब्जा जमाएर अघि बढिरहेको छ।
यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको स्रोत आधारमा पहुँच सुनिश्चित गर्न सम्झौताको दबाब दिइरहेका छन्। उनले बाइडेन प्रशासनको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोत प्रयोग गर्नुपर्ने माग राखेका छन्। तर, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ धातुजस्ता स्रोतको साटो ट्रम्पबाट सुरक्षा ग्यारेन्टी खोजेका छन्, जुन इलेक्ट्रोनिक्सका लागि महत्वपूर्ण छन्।
किएभले ट्रम्पको माग अस्वीकार गरेको छ। युक्रेनका एक स्रोतले शनिबार एएफपीलाई बताएअनुसार जेलेन्स्की अमेरिकी मागमा सहमत छैनन्। चिफ अफ स्टाफ एन्ड्री यर्माकले आइतबार वार्ता ‘सामान्य’ रूपमा अघि बढिरहेको जनाए। ट्रम्प र उनका सहयोगीले जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

