काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३, बेलासपुरमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्न रुपन्देहीबाट ५० थप प्रहरी खटाइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले भने, ‘स्थिति नियन्त्रणका लागि ५० प्रहरी पठाएका छौं।’
मंगलबार बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी २० जना घाइते भएका छन्। सोमबार साँझ केटी पक्षका आफन्तले केटा पक्षका एक युवकलाई कुटपिट गरेपछि तनाव बढेको थियो। यो विवाद चार महिनाअघिको प्रेम विवाहसँग जोडिएको छ, जसमा केटी पक्षले केटाका बुवालाई माघमा कुटेका थिए। वडा कार्यालयको पहलमा मिलापत्र भए पनि सोमबार राति फेरि कुटपिट भएपछि मंगलबार झडप भएको हो।
घाइते युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहँदा केटा पक्षले केटी पक्षको कवाडी गोदाम र घरमा आगजनी गरेको छ। आक्रोशित समूहले प्रहरीको गाडी (बा १ झ ७४४८) मा पनि आगो लगाए। झडपमा विजय धवल र बैजनाथ प्रसाद लोनिया गम्भीर घाइते भएका छन्, उनीहरूको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ। अन्य ५ स्थानीय, १२ जनपथ र ४ सशस्त्र प्रहरी पनि घाइते छन्।
प्रहरीले ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ। चार महिला सहित ५ जना पक्राउ परेका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले गाडीको ठक्करबाट सुरु भएको विवादले झडप र आगजनी निम्त्याएको बताए। समयमा दमकल नआउँदा क्षति बढेको प्रहरीको गुनासो छ। अहिले अवस्था सामान्य बन्दै गएको र छलफल जारी रहेको वडाध्यक्ष गोधन प्रसाद हरिजनले जनाए।

